काठमाडौं । होण्डाले आफ्नो लोकप्रिय रेट्रो मोटरसाइकल सीबी-३५० लाई भारतीय बजारमा तीन फरक डिजाइन र फिचरको साथ उतारेको छ । सन् २०२० मा पहिलोपटक सार्वजनिक भएको सीबी-३५० अहिले सीबी-३५०, सीबी-३५०सी र सीबी-३५०आरएस अप्सनमा उपलब्ध भएको हो ।
सन् २०२२ मा नेपालमा समेत आएको सीबी-३५० लामो समय बजारमा उपलब्ध भएको थिएन । स्याकार ट्रेडिङले बिक्री गर्दै आएको सीबी-३५० धेरै समय बिक्रीको लागि उपलब्ध भएको थिएन । कम्पनीले नयाँ पुस्ताको सीबी-३५० नेपाल ल्याउने सम्भावना बलियो छ ।
नेपाल उपभोक्ताले पनि खुबै मनपराए पनि खरिद गर्न नपाएको सीबी-३५० को नयाँ जेनेरेसन मोडलमा उपलब्ध ३ भेरियन्टमा के के विशेषता पाइन्छ भन्ने कुरा हामीले यहाँ हेरेका छौं ।
तीनै मोटरसाइकलमा ३४८.३६ सीसीको सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । यसले २०.७ हर्सपावर उत्पादन गर्छ । गियरबक्स पनि सबैमा ५-स्पिडको छ ।

ट्रयाक्सन कन्ट्रोल, डुअल च्यानल एबीएस र स्लिप एण्ड असिस्ट क्लच तीनै मोडलमा उपलब्ध छन् । उच्च भेरियन्टमा होण्डा रोडसिंक स्मार्टफोन कनेक्टिभिटी उपलब्ध छ ।
सीबी-३५० लाई कम्पनीले सबैभन्दा परम्परागत रेट्रो रोडस्टरका रूपमा ल्याएको छ । यसको तौल १८१ किलोग्राम, ग्राउण्ड क्लियरेन्स १६६ एमएम र फ्युल ट्यांक १५ लिटरको छ । टर्क ३० एनएम छ ।

सीबी-३५० सी तीनमध्ये सबैभन्दा धेरै तौल भएको मोडल हो । यसको तौल १८६ किलोग्राम छ । यसमा ग्राउण्ड क्लियरेन्स १६५ एमएम र फ्युल ट्यांक १५.२ लिटरको छ । यसको टर्क २९.५ एनएम मात्रै छ ।
सीबी-३५० आरएस स्क्र्याम्बलर शैलीमा तयार भएको छ । यसको तौल १८० किलोग्राम छ । यो सीबी-३५० परिवारकै सबैभन्दा हलुका मोडल हो । यसमा १६८ एमएमको सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स छ ।

