काठमाडौं । सरकारले नेपालमा सबै किसिमको सवारी साधनमा यूरो ६ वा सो-सरहको मापदण्ड लगाउन लागेको भन्दै यदि त्यसो भए कमर्शियल सवारी साधनको मूल्य ४० प्रतिशतसम्मले बढ्ने नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ ।
आज नयाँ प्रदुषण मापदण्डको विषयमा पत्रकार सम्मेलन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले भने, ‘सवारी साधनमा नयाँ मापदण्ड लगाउने विषयमा नाडा विरोध गर्दैन । तर, एक्कासी यूरो ३ वा त्यो सो-सरहको मापदण्डबाट यूरो ६ सरहमा उक्लदा धेरै रकम खर्च गर्नु पर्ने हुन्छ । त्यसले समग्रमा मूल्य वृद्धि गराउने छ ।’
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रदुषणको विषयमा व्यवसायीहरु पनि सकारात्मक रहेको जानकारी दिए । उनले यूरोका विभिन्न स्टेजको बारेमा जानकारी दिदै यूरो ४ वा सो-सरहको मापदण्ड नै तत्कालको लागि उपयुक्त हुने धारणा राखेका थिए ।
अहिलेकै अवस्थामा यूरो ६ वा सो-सरहको मापदण्ड बनाए कमर्शियल गाडीको मूल्य करिब ४० प्रतिशतले वृद्धि हुने बताउँदै श्रेष्ठले भने, ‘नीति निर्माताले यस विषयमा सोचेर सहि निर्णय गर्नु पर्छ । अन्यथा नेपालको ट्रान्सपोर्टेशन कष्ट निकै महंगो हुनेछ ।’
मूल्य बाहेक पनि यूरो ६ वा सो-सरहको मापदण्ड लागुगर्दा सर्भिसिङ नेटवर्क चुस्त बनाउन कठिन हुने नाडाले दावी गरेको छ । साथै, लोकल ग्यारेज संचालकलाई ट्रेनिङ लगायतका कामको लागि कम्तीमा २ वर्षको थप समय उपलब्ध गराउनु पर्ने नाडाको भनाई छ । त्यसको लागि अहिले यूरो ४ वा सो-सरहको मापदण्ड लागु गर्न नाडाले सरकारलाई सुझाव दिएको छ ।
चार पाङ्ग्रे र दुई पाङ्ग्रेमा छैन समस्या
अहिले नेपालमा अधिकांश कार विक्रेता कम्पनीहरुले भारत स्टेज सिक्स मापदण्डको गाडी आयात गर्दै आएका छन् । केही कम्पनीले अहिले पनि बीएस फोर नै गाडी आयात गरिरहेको भएपनि बीएस ६ अनिर्वाय हुने हो भने उनिहरु तत्कालै गाडी ल्याउन सक्ने अवस्थामा छन् ।
मोटरसाइकलको हकमा पनि भारतबाट आयात हुने अधिकांश ब्राण्डलाई कुनै पनि मोडल ल्याउन समस्या हुने देखिदैन ।
केही ब्राण्ड बन्द हुन सक्ने
भारत बाहेकका देशमा उत्पादन भएका केही कार तथा मोटरसाइकल ब्राण्ड यूरो ६ वा सो-सरहको मापदण्ड लागु भएमा बन्द हुन सक्ने देखिएको छ । त्यसैले सबै व्यवसायीको साझा संस्था नाडाले निकै जटिल विषयमा भोलि कसरी आफ्नो नीतिगत लविङ गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ ।


