नेपाली उत्पादन यात्री मोटरसाइकल ‘सोल्ड आउट’, बन्द भयो बुकिङ

काठमाडौं । नेपाली इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी यात्रीले उत्पादन गरेको पहिलो मास मार्केट मोडल पी-१ सोल्ड आउट भएको छ । कम्पनीले आफ्नो आधिकारीक फोसबुक पेज मार्फत पी-१ सोल्ड आउट भएको जानकारी दिएको हो ।

केही दिनअघि बालुवाटारमा शोरुम संचालनमा ल्याएको कम्पनीले अहिले बुकिङ लिएको सबै यूनिट आगामी मार्च अन्तिमसम्ममा डेलिभरी दिने जनाएको छ ।

यात्रीले दिएको जानकारी अनुसार अर्को चरणको बुकिङ केही हप्तापछि खुल्ला गर्ने जनाएको छ । अब दोस्रो चरणमा बुकिङ लिने मोटरसाइकल भने २०२२ को दोस्रो क्वाटरसम्ममा डेलिभरी दिनेगरी तयारी गरिएको कम्पनीले जनाएको छ ।

यात्री इलेक्ट्रीक सवारी उत्पादक कम्पनी हो । कम्पनीले नेपालभर १५० चार्जिङ स्टेशन निर्माण गर्ने यसअघि नै घोषणा गरेको थियो । सुरुमा पी-१ किन्ने ग्राहकले यात्रीको चार्जिङ नेटवर्कमा निःशुल्क चार्जिङ सुविधा पनि पाउने छन् ।

यात्रीले आफ्नो पी-१ मोडललाई ४ लाख ९५ हजार सुरुवाती मूल्य राखेर बुकिङ लिएको थियो । साथै, कलर लगायतका केही फिचर रकम थप गरेर खरिद गर्न सक्ने स्कीम कम्पनीले दिएको थियो ।

यात्री पी-१मा ३ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिएको छ । यो मोटरसाइकल एकपटक फुल चार्ज गरेर ११० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।

टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको यो मोटरसाइकलमा दिइएको व्याट्रीलाई फास्ट चार्जर मार्फत चार्जगर्दा १ घन्टा र रेगुलर चार्जरबाट चार्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले पूर्ण रुपमा एलइडी लाइटको प्रयोग गरेको छ भने, यसको फ्रन्टमा यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक र ट्युवलेस टायर रहेको छ ।


Back_to_top