काठमाडौं । वर्षायाम लागेसँगै सरकारले सम्भावित सडक अवरोध हटाउन उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको छ ।
बाढी पहिरोका कारण अवरुद्ध हुने सडक जतिसक्दो चाँडो खुलाउन सडक विभागले २७७ वटा यान्त्रिक उपकरण र सोही अनुसार जनशक्ति तयारी अवस्थामा राखेको हो ।
विभागले यस वर्ष गत वर्षकोभन्दा १३ वटा धेरै उपकरण तयारी अवस्थामा राखेको हो । गत वर्ष २६४ वटा उपकरण तयारी अवस्थमा राखिएको थियो ।
सडक विभाग, यान्त्रिक महाशाखाका उपमहानिर्देशक (सुई) भुवन अधिकारीले वर्षायाममा हुने सडक अवरोध हटाउन २७७ वटा उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले देशभरका राजमार्गमा खस्ने पहिरो पन्छाउन र सडक बगाएको ठाउँमा नयाँ ट्रयाक खोल्न डोजर, एक्स्काभेटर, लोडर, ट्रिपर, क्रेन लगायत उपकरण तयारी अवस्थामा राखिएको बताए ।
उनका अनुसार पहिरो जाने सम्भावित क्षेत्र पहिचान गरी १५४ वटा र देशभरका विभिन्न सडक कार्यालयहरूमा १२३ वटा उपकरण तयारी अवस्थामा राखिएको छ ।
‘वर्षायाममा जति बेला जहाँ पनि सडक अवरुद्ध हुन सक्छ । त्यसलाई तत्काल खुलाउन हामीले यस वर्ष २७७ वटा उपकरण तयारी अवस्थामा राखेका छौं । तीमध्ये १५४ वटा जोखिम पहिचान गरिएका स्थान र १२३ वटा विभिन्न कार्यालयहरूमा छन्,’ उनले मेरोअटोसँग भने ।
उनका अनुसार ६३ वटा ब्याकहोल लोडर, ७१ वटा ह्वील लोडर, ३६ वटा ट्रयाक एक्स्काभेटर, १० वटा ह्वील एक्स्काभेटर, ७ वटा ट्रम डोजर, २ वटा मोटर ग्रेडर र ८८ वटा ट्रिपर, ट्रयाक्टर, क्रेन लगायत उपकरण तयारी अवस्थमा राखिएको हो ।
ती उपकरणहरू हेभी इक्वीपमपेन्ट डिभिजन इटहरी, जनकपुर, हेटौँडा, काठमाडौं, पाखेरा, बुटवल, नेपालगञ्ज, गोदावरी र देशभरका विभिन्न सडक कार्यालयहरूमा राखिएको छ । जुन आवश्यकता अनुसार प्रयोग गर्न सकिने उनको भनाइ छ ।
यात्रुहरूलाई लामो समय अलपत्र हुन नदिनका लागि देशभर उपकरणहरू तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
१५ मिनेटदेखि १ घण्टामा पुगिसक्ने
सकड अवरुद्ध भएको थाहा पाएको १५ मिनेटदेखि १ घण्टामा उक्त स्थानमा उपकरण पुगिसक्ने व्यवस्था मिलाइएको उपमहानिर्देशक अधिकारीले बताए ।

‘कुन सडक कति बेला कहाँ अवरुद्ध हुन्छ पहिल्यै थाहा पाउन सकिँदैन । तर, खबर पाएको १५ मिनेटदेखि अधिकतम १ घण्टामा अवरुद्ध स्थानमा पुग्ने गरी तयारी गरेका छौं,’ उनले भने । यद्यपि, उपकरण लैजानै नसक्ने अवस्था उत्पन्न भएमा भने केही ढिलाइ हुनसक्ने उनको भनाइ छ ।
हरेक उपकरणमा एक जना जनशक्तिको व्यवस्था मिलाइएको उनले बताए । ‘हरेक उपकरणमा एक जना चालक हुन्छन् । सबै एकैपटक चल्दैन । जनशक्तिको अभाव हुँदैन । यदि, कोही बिरामी भएमा उसको सट्टा अर्कोलाई खटाइने छ,’ उनले भने ।
सडक विभागले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले यान्त्रिक उपकरणलाई सम्बन्धित स्थानमा लैजानका लागि निर्देशन दिने व्यवस्था मिलाएको छ । यस्तै, सडक डिभिजन कार्यालयहरूले यसको परिचालन गर्ने व्यवस्था छ ।
१५ वटा बेलीब्रिज स्टक
त्यस्तै, विभागसँग भभइपरी आउँदा प्रयोग गर्न मिल्ने १५ वटा बेलीब्रिज स्टक रहेका छन् । विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख (सुई) ललिजन खनालका अनुसार हाल १५ वटा बेलीब्रिज स्टकमा रहेका छन् । ती पुल आवश्यक परेको बेला जुनसुकै ठाउँमा जडान गर्न सकिने उनले बताए ।
‘हाल विभाग मातहतका विभिन्न सडक डिभिजन कार्यालयहरूमा १५ थान बेलीब्रिज स्टक छन् । ती पुल चाहिएको ठाउँमा आवश्यकता अनुसार जडान गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार विभागसँग अहिले ३६ देखि ७० मिटर लम्बाइ र ४.२ देखि ७.३५ मिटरसम्म चौडाइका बेलीब्रिज स्टकमा छन् ।
पुल महाशाखाका अनुसार सडक डिभिजन हेटौंडामा ८ वटा बेलिब्रज स्टकमा छन् । त्यस्तै, बाँकी पुल सडक डिभिजन दमौली, शिवपुरमा लाहान, बुटवल, साँफेबगर, सुर्खेत र जुम्लामा छन् ।


