काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को व्यापार बढ्दो क्रममा छ । चालु आवको ९ महिना (साउन-चैतमा)मा मात्रै ७ हजार ९६७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।
ईभीको बजार बढेसँगै ब्राण्डको संख्या पनि बढ्दो छ । हाल नेपाली बजारमा ४ दर्जन ब्राण्डका चारपाँग्रे ईभी बिक्री हुँदै आएका छन् । ती ब्राण्डका १०० बढी ईभी मोडल बजारमा उपलब्ध छन् ।
पछिल्लो एक महिना (चैत)मा मात्रै नेपाली बजारमा १५ ब्राण्डका २९ मोडलका ९७२ युनिट ईभी भित्रिएका छन् । जसमा एउटै ब्राण्डले ५ वटासम्म मोडलका ईभी ल्याएकाे छ ।
चैतमा सबैभन्दा धेरै टाटा ब्राण्डका ५ मोडलका ईभी नेपाल भित्रिएका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ५ मोडलका १८७ युनिट ईभी ल्याएको हो । जसमा सबैभन्दा धेरै ट्याक्सीको रूपमा प्रयोग हुने एक्सप्रेस टी १०२ युनिट ल्याएको छ । त्यस्तै, पञ्च ईभी ३८ युनिट, टियागो ईभी ३३ युनिट, नेक्सन केथ्री १० युनिट र कर्भ ईभी ४ युनिट ल्याएको छ । सिप्रदीले ल्याएको कर्भ ईभी भने नेपाली बजारमा नयाँ मोडलको कुप्पे एसयूभी हो ।

संख्याका आधारमा भने चैतमा सबैभन्दा धेरै बीवाइडी ब्राण्डका ईभी भित्रिएका छन् । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले चैतमा ३ मोडलका २०२ युनिट ईभी ल्याएको छ । जसमा डल्फिन सबैभन्दा धेरै १५० युनिट रहेको छ । त्यस्तै, ५१ युनिट एम ६ र एक युनिट शार्क ल्याएको छ । बीवाइडीले ल्याएको शार्क पिक नेपाल भित्रिने पहिलो प्लगइन हाइब्रिड मोडल समेत हो ।
त्यस्तै, चैतमा डोङफेङ ब्राण्डका ३ मोडलका ईभी आएका छन् । डोङफेङको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले ३ मोडलका १४० युनिट ईभी ल्याएको छ । जसमा नामी ८० युनिट, मिनी ४० युनिट र सेरेस थ्री २० युनिट ल्याएको छ ।
त्यस्तै, दीपलका दुई मोडलका ७० युनिट ईभी आएका छन् । एमएडब्लू वृद्धि अटो कर्पले ४४ युनिट दीपल एस ०७ र २६ युनिट ई ०७ ल्याएको छ ।
त्यसैगरी, चैतमा केईले ३ माेडल, लीपमोटर, ओमोडा/जेको र बीएमडब्लूका २/२ मोडलका ईभी ल्याएका छन् । ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३२ युनिट जेको जे ६ र २६ युनिट ओमोडा ई ५ ल्याएको छ ।
लक्ष्मी ई मोबिलिटी र जिओ अटोमोबाइले संयुक्त रूपमा १९ युनिट केई ई क्यूट ०४, ६ युनिट ई क्यूट ०२ ईभी र एक्स थ्री प्रो ६ युनिट ल्याएका छन् । त्यस्तै, साँग्रिला मोटर्सले लीपमोटरको ५ युनिट सी १० र १५ युनिट टी ०३ भित्र्याएको छ । लक्ष्मी प्रिमियमले १ युनिट बीएमडब्लू आइएक्स ३ र २ युनिट आइएक्स ल्याएको छ ।

चैतमा हुन्डाई, एमजी, प्रोटोन, बीएडब्लू, भोल्टस्, जेएमईभी र एलएस अटो ब्राण्डका १/१ मोडल ईभी नेपाल आएका छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटा ईभी ६० युनिट, प्यारामाउन्ट मोटर्सले एमजी एस फाइभ १०५ युनिट र जगदम्बा मोटर्सले ३० युनिट प्रोटोन इमास ७ ल्याएको छ ।
चैतमा बीएडब्लूको ब्रम्बी १३ युनिट, भोल्टस् ६ युनिट, जेएमईभीको ईभी इजी ५० युनिट, एल एस अटोको एलईभी ०१ र पोर्श्चे मकान समान २/२ युनिट आयात भएको छ ।

