किया स्पोर्टेजको २९ वर्ष : माज्दाको सहयोगदेखि आफ्नै हाइब्रिड टेक्नोलोजीसम्म

काठमाडौं । कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले सुरूआतदेखि नै नेपालमा विक्री गर्दै आएको स्पोर्टेज एसयूभी निकै चर्चित मोडल हो । सन् १९९३ बाट उत्पादन भएको कियाको स्पोर्टेज मोडल सन् १९९६ हाराहारीमा नेपाल आएको थियो ।

कोरियन कार निर्माता कम्पनी कियाले स्पोर्टेजको अहिलेसम्म ५ जेनेरेशन बजारमा ल्याएको छ । पछिल्लो पटक सन् २०२१ मा कियाले पाँचौं जेनेरेशन स्पोर्टेज ल्याएको थियो ।

किया स्पोर्टेजको सबै जेनेरेशन मोडल नेपाल आएको छ भने, सबैले व्यवसायिक सफलता पनि पाएका छन् । जापानी कम्पनी टोयोटा र निसानका एसयूभी महँगो मूल्य पर्ने र कोरियन एसयूभी कम मूल्यमा फिचर लोडेड पाइन्छ भन्ने मान्यता अनुसार धेरै मानिसले स्पोर्टेज छनोट गरेको बुझ्न सकिन्छ ।

समयसँगै कियाले स्पोर्टेजलाई हाइटेक बनाएको छ । पछिल्लो समय कुप्पे डिजाइनबाट प्रेरित भएर स्पोर्टेज बनेको छ । यसले पनि धेरै मानिसको ध्यान खिच्न सफल भएको देखिन्छ । अझ कम्पनीले प्लग इन हाइब्रिड मोडल बजारमा ल्याएर थप चर्चा बटुल्न सफल भएको छ । यसले कियाको सर्वाधिक सफल एसयूभीलाई थप चर्चाको शिखरमा लग्ने अनुमान गर्न सकिन्छ ।

पहिलो जेनेरेशन

कियाको पहिलो एसयूभी स्पोर्टेज जन्म माज्दासँगको सहकार्यमा भएको हो । पहिलो जेनेरेशन स्पोर्टेज ‘माज्दाको बोङ्गो इन्जिनीयरिङ बेस प्लेटफर्म’मा तयार भएको हो । सन् १९९३ को समयमा कियाले अमेरिकी कम्पनी फोर्ड र जापानी कम्पनी माज्दासँग सहकार्य गरिरहेको थियो । त्यसैले पहिलो जेनेरेशन किया स्पोर्टेजमा माज्दाको मेकानिकल कम्पोनेन्टहरू इन्जिन र गियरबक्स प्रयोग भएको थियो ।

सन् १९९५ देखि १९९८ सम्म किया स्पोर्टेज युरोपियन बजारका लागि जर्मनमा उत्पादन हुने गरेको थियो । बाँकी विश्वको लागि भने दक्षिण कोरिया प्लान्टमा यसको उत्पादन हुन्थ्यो ।

कियाले पहिलो जेनेरेशन स्पोर्टेजलाई फाइभ डोर र थ्री डोर सफ्टटप कन्भर्टिबल स्वरूपमा ल्याएको थियो । यसलाई कम्पनीले २.० लिटर एफइडीओएचसी पेट्रोल र २.० लिटर एफइ इनलाइन फोर डिजेल इन्जिन दिएर ल्याएको थियो ।

सन् १९९३ बाट २००२ सम्म उत्पादन भएको पहिलो जेनेरेशन स्पोर्टेजको विक्री अन्तर्राष्ट्रिय बजारमा सोचेजस्तो राम्रो भएन । यही दौरान कियाले सन् १९९७ मा बैकरप्सी फाइल गरेको थियो । यसै क्रममा साउथ कोरिया कै अर्को मोटर कम्पनी हुन्डाईले सन् १९९८ मा किया खरिद गर्यो । हुन्डाईले खरिद गरेता पनि किया ब्राण्डलाई छ्ुट्टै अगाडि बढाइ रहेको छ । यी दुवै ब्राण्ड बजारमा एक अर्काका प्रतिस्पर्धी हुन् ।

सेकेन्ड जेनेरेशन

राम्रो विक्री नभएपछि सन् २००२ मा स्पोर्टेजको उत्पादन बन्द भयो । कियाले पहिलो जेनेरेशनमा व्यापक परिमार्जन गर्दै सन् २००४ को अन्तिममा सेकेन्ड जेनेरेस स्पोर्टेज आयो । यसलाई कम्पनीले बजारमा भने सन् २००५ बाट मात्रै विक्री सुरू गरेको थियो ।

पहिलेको भन्दा सुधारिएको डिजाइनको कारण यसले चर्चा कमायो । हुन्डाईको इलान्ट्रा बनेको प्लेटफर्म र टुसानको बेसमा २.० लिटर सीआरडीआई स्ट्रेट फोर डिजेल इन्जिन र २.० लिटरको बीटा र २.७ लिटरको डेल्टा भी ६ इन्जिनमा आयो ।

फिट फिनिसिङ र क्वालिटीमा सुधारसँगै फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सन यसमा थियो । बजारमा आएको ३ वर्षपछि २००८ मा फेसलिफ्ट स्पोर्टेज आयो । यसलाई सुरक्षामा केन्द्रीत गरिएको थियो । सेकेन्ड जेनेरेशन स्पोर्टेजले अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनबाट क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाएको थियो ।

थर्ड जेनेरेशन

सन् २०१० मा स्पोर्टेजको तेस्रो जेनेरेशन आयो । अब कम्पनीले ठूलो इन्जिनको महत्व सकिएको महशुस गर्दै २.० लिटर क्षमताको डिजेल र पेट्रोल इन्जिन दिएर बजारमा ल्यायो ।

तेस्रो जेनेरेशन स्पोर्टेजले अमेरिकामा सन् २०११ को ‘कार अफ दी इयर’को सम्मान पायो । यसले सोचेजस्तो व्यापार पाएसँगै किया एसयूभी उत्पादनमा आक्रमक बनेको थियो ।

फोर्थ जेनेरेशन

कियाले सन् २०१५ को फ्याकफर्ट मोटर शोमा चौथो जेनेरेशन स्पोर्टेज बजारमा ल्याएको थियो । सन् २०१६ बाट विक्री सुरू भएको चौथो जेनेरेशन स्पोर्टेजमा मोर्डन फाइटर जेटबाट प्रेरित कन्ट्रास्टिङ सार्पएज तथा स्मुथ सरफेस दिइएको छ । कम्पनीले यो जेनेरेशनलाई १.६, २.० र २.४ लिटरको फरक फरक क्षमताका पेट्रोल इन्जिनमा ल्यायो । साथै डिजेलमा २.० लिटर टर्बो इन्जिन प्रयोग भयो ।

यो एसयूभीमा ६ स्पीड म्यानुअल, ६ स्पीड अटोमेटीक, ७ स्पीड डीटीसी तथा ८ स्पीड अटोमेटीक गियरबक्सको छनोट दिइएको थियो । फोर्थ जेनेरेशन स्पोर्टेजले सन् २०१६ को उत्कृष्ट कार डिजाइनमा ‘रेड डट अवार्ड’ समेत पाएको थियो ।

पाँचौंं जेनेरेशन

किया स्पोर्टेजको पाँचौंं जेनेरेशन सन् २०२१ को जुनमा सार्वजनिक भएको हो । अहिले नेपाल आउँदै गरेको ५ औं जेनेरेशन मोडल कियाको लेटेस्ट एनथ्री आर्किटेक्चर प्लेटफर्ममा बनेको हो ।

कियाले पाँचौं जेनेरेशन स्पोर्टेजलाई बजार अनुसार फरक फरक बडी साइज र ह्वीलबेसमा बनाएको छ । यो मोडलमा बाटोको कन्डिसन अनुसार अटोमेटिकल्ली एड्जस्ट हुने स्नो, मड, र स्याण्डमा संचालन गर्ने टेरेन मोड थपिएको छ । यो कारमा इलेक्ट्रिक कन्ट्रोल सस्पेन्सन पनि रहेको छ ।

यो जेनेरेशनसँगै हाइब्रिड र प्लगइन हाइब्रिड मोडलको समेत उत्पादन सुरू भएको छ । पाँचौं जेनेरेशनको अटोमेटिक भेरियन्टमा सिफ्ट वाइ वायर गियर डायलको समेत सुरूआत भएको छ ।

नयाँ स्पोर्टेजमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टम, न्याभिगेसन अग्मेन्टेड क्रुज कन्ट्रोल, लेन सेन्ट्ररिङ असिस्ट तथा एड्भान्स ब्लाइन्ड स्पर्ट कोलिजन अभोयडेन्स असिस्ट सिस्टम जस्ता अत्याधुनिक फिचरहरू दिइएको छ ।


Back_to_top