अटाे क्षेत्रकाे वास्तबिकता: सरकारको रबैया, बिक्रेताकाे कमजोरी र उपभोक्ताको आक्रोश

समय बलवान हुन्छ भनिन्छ र हो पनि । अहिलेको लडाई सयम, व्यापार, उत्पादन र बजारीकरण भन्दा पनि पुरै विश्व लकडाउनको अवस्थामा रहेको छ । हरेक तह र तप्काका मानिसहरु अहिले आफ्नै घरमा स्वबन्दीको रुपमा बसेका छन् । नेपाली क्यालेण्डर अनुसार हामी आजबाट नयाँ वर्षमा प्रबेश गरेका छौं । नयाँ वर्षसँगसँगै मेरोअटोले आफ्नो संचालनको दुई वर्ष पूरागरि तेस्रो वर्षमा प्रबेश गरेको छ ।

हाम्रालागि यी दुई वर्ष निकै उत्साहप्रद रहेको कुरामा दुईमत छैन । तर, सरकार र नीति निर्माताले उपेक्षा गरेको क्षेत्रमा कलम चलाउँदा निकै सकस हुने कुरा हामीले भोगेका छौं । राज्यले विलासीको श्रेणीमा राखेको क्षेत्रबाट नागरिकले धेरै फायदा पाउने कुरै भएन । अत्यावश्यक साधनलाई विलासी बस्तुको सूचीमा राखेर संसारकै सबैभन्दा बढी कर लगाइएको अटोमोवाइल क्षेत्रमा व्यवसायीले धेरै मूल्य लिए वा लुटे भन्ने आरोप आम मानिसले लगाउने गरेका छन् । तर, यो क्षेत्रमा लगाएको करका कारण आमनागरिको नजरमा सबैभन्दा बढी पिडक अटोमोवाइल व्यवसायी भएको देखाइएको छ ।

सरकारले यो क्षेत्रमा लगाएको करको कारण सवारीसाधन महंगो भएको हो । व्यवसायीको नाफा अधिक भएको होइन भन्ने कुरा समाज र आमनागरिकलाई बुझाउन नसक्नु व्यापारी र राज्य दुबैको कमजोरी हो । नेपालमा बिक्री हुने अधिकांस सवारीसाधन भारतबाट आउने गर्छ । भारतीय बजारमा कति मूल्यमा गाडी बिक्री भइरहेको छ भन्ने यहाँका आमनागरिकले सहजै पत्तालगाउने गरेका छन् । भारतमा करिब ३ लाख ५० हजार भारु मूल्य रहेको गाडी नेपालमा हामीले २२ लाखसम्म तिर्नु पर्ने हुन्छ । यसमा सबैभन्दा ठूलो प्रतिफल वा कर राज्यले लिइरहेको हुन्छ तर, नागरिकको नजरमा व्यापारीले खाएभन्ने गइरहेको छ । यसले अटोक्षेत्र प्रति नकारात्मक सोचको विकास भइरहेको छ । यस्तोमा अटोमोवाइल क्षेत्रको रिपोर्टिङ गर्नु झनै कठिन हुँदै गएको छ ।

हामीले २ वर्ष पूरागरि तेस्रो वर्षमा प्रबेश गर्दै गर्दा यो क्षेत्रले सृजना गरेको रोजगारी, विभिन्न किसिमका कर र सेवाको विषयमा भोलिका दिनमा श्रृङ्खलागत रुपमा समाचार प्रकाशन गर्दै अगाडि बढ्ने प्रण गर्दछौं । अहिले देखिएको विसम परिस्थितिले निम्त्याउने संकटसँग जुध्न व्यवसायीक वातावरणमा सुधार हुनुपर्छ । यस्तोमा मानिसको मोविलिटी निकै आवस्यक हुन्छ । यसतर्फ सरकार र व्यवसायी दुबैले ध्यान दिन जरुरी छ ।

दुई वर्षको छोटो अवधिमा हामीले लेखेका समाचारले आमनागरिकको बीचमा केहीहदसम्म सवारीसाधनको बारेमा जानकारी दिन सफल भएका छौ । यस अवधिमा हामीलाई पढ्ने पाठक, सूचना उपलब्ध गराउने विभिन्न निकायका स्रोतहरु, विभिन्न गाडी बिक्रेता, कम्पनीहरु, विभिन्न स्थानबाट सहयोग गर्नु हुने सरकारी निकायका कर्मचारीहरु सबैमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।

प्रकाशकः अटोमोटिभ्स प्रालि


Back_to_top