काठमाडौं । हिरोले लकडाउनको कारण बिक्री सुरु गर्न नपाएको एक्स्ट्रीम १६० आर अहिले निकै चर्चामा रहेको मोटरसाइकल हो । १६० सीसी क्षमताको नयाँ इन्जिनमा मोर्डन लुक्स र फिचरसहित आएको एक्स्ट्रीम १६० आरले यो सेग्मेन्टमा सबै कम्पनीलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
हिरो एक्स्ट्रीम १६० आरको बजारमा सिधा प्रतिस्पर्धा टीभीएस अपाचे १६० फोर भी, बजाज पल्सर एनएस १६०, यामाहा एफजेड भी थ्री, होन्डा एक्सव्लेड जस्ता मोडलसँग हुने देखिन्छ ।
यो सेग्मेन्टमा रहेका मोटरसाइकलको तुलनामा हिरोको नयाँ इन्जिन निकै उत्कृष्ट रहेको दाबी कम्पनीले गरेको छ । यसमा १६० सीसी सिंगल सिलिण्डर एयरकुल्ड एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ हर्स पावर र १४ एनएम टर्क प्रदान गर्नेछ । माइलेजको हिसावले यो सेग्मेन्टमै धेरै माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

सबै किसिमका लाइट एलइडी हुनु यसको अर्को सबल पक्ष हो । हिरोको ड्रोयड हेडल्याम्प प्रयोग भएको यस मोटरसाइकलको पछाडिका सबै लाइट पनि एलइडी रहेको छ ।
कम्पनीले यसमा हजार्ड लाइट समेत दिएको छ । यी सुविधा भएको यो नै पहिलो मोडल हो । यो फिचर धेरै महंगा मोटरसाइकलमा मात्र उपलब्ध हुने गरेकोमा हिरोले एक्स्ट्रीम १६० आरमा दिएको छ ।
साइड स्ट्यान्ड इनर्जी कट अफ सिस्टम उपलब्ध रहेको सेग्मेन्टमै यो पहिलो मोटरसाइकल हो । यो मोटरसाइकलमा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ । साथै यसमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
भारतीय बजारमा अहिलेसम्म आधिकारीक मूल्य घोषणा नभएको भएपनि यो मोटरसाइकलको मूल्य ३ लाख हाराहारी रहने पक्का छ ।
नेपाली बजारमा एनजीएमले ल्याउने यो मोटरसाइकल नाडा अटो शो २०२० सम्ममा आउने अनुमान गरिएको छ ।


