काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल र स्कुटर लोकप्रिय बनिरहेको छ । सबै बर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार बढ्दो छ ।
नयाँ बाइक चढ्न चाहनेहरु आफ्नो क्षमता र रोजाइ अनुरुपका बाइक छानिरहेका छन् । ग्राहकको बढ्दो आकर्षणलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले छुट, वारेन्टी, फाइनान्स लगायतका आर्कषक योजना ल्याएका छन् ।
बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका कम्पनीले निश्चित समयअवधिका लागि बाइकको इन्जिन ब्याट्री स्पेयरपार्टमा वारेन्टी प्रदान गर्नेगर्छन् । जसले पनि बाइक किन्नेहरुको मन लोभ्याएको छ भने बाइकको ब्यापार पनि बढेको छ ।
कुन कम्पनीले कति वर्षको वारेन्टी दिदै आएका छन् त ?
टीभीएस

टीभीएस कम्पनीको आधिकारिक बितरक जगदम्बा मोटर्सले आफ्ना मोटरसाइकलको इन्जिनमा ६० हजार किलोमिटर वा पाँच वर्षे वारेन्टी दिदै आएको छ भने ब्याट्रीमा १२ हजार किलोमिटर वा एक वर्षे वारेन्टी प्रदान गर्दै आएको छ ।
साथै, बाइक वा स्कुटर किनेको ६ महिना भित्र सस्पेन्सनमा समस्या आए सर्भिसमा छुट हुने कम्पनीले जनाएको छ ।
होन्डा

यस्तै, स्याकार ट्रेडिङ प्राइभेट लिमिटेडले बाइकको इन्जिननमा ३२ हजार किलोमिटर वा दुइ वर्षे अवधिका लागि वारेन्टी दिदै आएको छ । स्कुटरको इन्जिनमा पनि समान दुई वर्ष वा २४ हजार किलोमिटरसम्म वारेन्टी हुने जनाएको छ । ब्याट्रीमा पनि कम्पनीले दुई वर्षे अवधिका लागि वारेन्टी दिने गरेको जनाएको छ ।
बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो बाइकको इन्जिनमा तीन वर्षे र ब्याट्रीमा दुई वर्षे अवधिको लागि वारेन्टी दिँदै आएको छ । कम्पनीको पल्सर सिरिज नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल हो ।
यामाहा

अन्य कम्पनीले जस्तै यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना बाइक तथा स्कुटरमा दुई वर्षे वारेन्टी दिदै आएको छ । यामाहाले मोटरसाइकलको इन्जिनमा ३० हजार किलोमिटर र स्कुटरको इन्जिनमा २४ हजार किलोमिटर सम्म वारेन्टी दिइरहेको छ । यस्तै, ब्याट्रीमा १ वर्षको लागि वारेन्टी दिनेगर्छ । सलुटो ड्रममा भने कम्पनीले २८ हजार किलोमिटरसम्म वारेन्टी दिने गरेको छ ।
हिरो

हिरोको लागि नेपालको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्ना मोटसाइकलमा पाँच वर्षे वारेन्टी प्रदान गर्दै आएको छ । १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आएको (एनजीएम) ले मोटरसाइकलको इन्जिनमा १७ हजार किलोमिटर र स्कुटरको इन्जिनमा तिस हजार किलोमिटर सम्म वारेन्टी दिँदै आएको छ । यस्तै ब्याट्रीमा भने समान १८ महिनाको वारेन्टी दिँदै आएको छ ।


