काठमाडौं । पछिल्लो वर्षहरूमा नेपालमा नेकेड स्पोर्ट मोटरसाइकलको माग बढ्दो क्रममा छ । सहरी क्षेत्रमा दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्म प्रयोग गर्न सकिने भएकाले यो सेग्मेन्टका मोटरसाइकल ग्राहकको रोजाइमा पर्दै गएका हुन् ।
विशेषगरी २०० सीसी आसपासका नेकेड बाइकले नेपाली बजारमा छुट्टै स्थान बनाएका छन् । ठूलो इन्जिन क्षमताका मोटरसाइकलको तुलनामा तुलनात्मक रूपमा पहुँचयोग्य मूल्य, स्पोर्टी डिजाइन, पर्याप्त पावर तथा आधुनिक फिचरका कारण यो सेग्मेन्टमा युवाको आकर्षण बढी देखिन्छ ।
नेपालमा आधादर्जन बढी ब्राण्डका नेकेड स्पोर्ट मोटरसाइकल उपलब्ध छन् । तर, २०० सीसी सेग्मेन्टमा तीन वटा मात्रै विकल्प छन् । जसमा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० फोरभी र केटीएम ड्युक २०० रहेका छन् ।
यी तीनै मोटरसाइकलको डिजाइन, पावर, टर्क, फिचर र मूल्य बारे हाकीलेृ यहाँ चर्चा गरेका छौं ।
बजाज पल्सर एनएस २००
बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको बजाज पल्सर एनएस २०० नेकेड स्पोर्ट सेग्मेन्टमा लोकप्रिय मोडल हो । आक्रामक स्टाइलिङसँगै पावरफुल इन्जिन यसको प्रमुख विशेषता हो ।

पल्सर एनएस २०० मा १९९.५ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, ट्रिपल स्पार्क, फोर भल्ब, डीओएचसी, एफआई रिफाइन्ड इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स छ ।
बेस्ट इन क्लास पावरमा रहेको एनएसमा पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, डिस्ट्यान्स टू इम्पीटी, एबीएस सिस्टम, एलईडी लाइटिङ, अपसाइड डाउन फोर्क, मोनोसक, स्लिपर एण्ड असिस्ट क्लच, राइड मोड लगायतका फिचरहरू पाइन्छ ।
नेपाली बजारमा एनएस २०० एउटै मात्र भेरियन्टमा उपलब्ध छ । कम्पनीको यसको मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।
टीभीएस अपाचे आरटीआर २०० फोरभी
रेसिङबाट प्रेरित डिजाइन र स्पोर्टी राइडिङ विशेषताका कारण अपाचे आरटीआर सिरिज नेपाली बजारमा परिचित छ । जगदम्बा मोटर्सले विगत ९ वर्षदेखि नेपालमा अपाचे आरटीआर २०० को बिक्री गर्दै आएको छ । कम्पनीले हालै नेपाली बजारमा आरटीआर २०० को अल न्यू भेरियन्टको पनि बिक्री सुरू गरेको छ । जसमा निकै एड्भान्स फिचरहरू थपिएका छन् ।

आरटीआर २०० मा १९७.७५ सीसीको सिंगल सिलिण्डर, आयल कुल्ड, फोर भल्ब, एसओएचसी, रेस ट्युण्ड एफआई इन्जिन दिइएको छ । यसले अधिकतम २०.८२ पीएस पावर तथा १७.२५ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड गियरबक्स छ ।
मोटरसाइकलमा रेसट्युन गरिएको एड्जस्टेबल अपसाइड डाउन यूएसडी फोर्क र प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन, डुअलच्यानल एबीएस, प्रोजेक्टर हेडलाइट, पूरा एलईडी लाइट सेटअप, ट्र्याक्सन कन्ट्रोल सिस्टम, राइडिङ मोडहरू, स्लिपर क्लच, प्यानिक ब्रेक अलर्ट, ग्लाइड थ्रो टेक्नोलोजी, आरएलपी, एडजस्ट क्लच एण्ड ब्रेक लिभर र ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
यसमा टीभीएस एक्स स्मार्ट कनेक्ट सिस्टम पनि उपलब्ध छ । यसमा राइडरलाई आवस्यक पर्ने गुगल म्याप लगायतका अन्य निकै सुविधा प्रयोग गर्न सकिन्छ । आरटीआर २०० फोरभी नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ४ लाख २४ हजार ९०० रुपैयाँ र ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।
केटीएम ड्युक २००
केटीएम ड्युक २०० नेपाली बजारमा उपलब्ध अर्को चर्चित २०० सीसी नेकेड स्पोर्ट मोटरसाइकल हो । स्ट्रिटफाइटर डिजाइन, एग्रेसिभ लुक्स र प्रिमियम ब्राण्ड इमेजका कारण ड्युक २०० ले यो सेग्मेन्टमा छुट्टै पहिचान बनाएको छ । यसलाई यो सेग्मेन्टको प्रिमियम मोडलमा समेत राख्न सकिन्छ ।

केटीएमका मोटरसाइकल नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनीले नै बिक्री गर्दै आएको छ । ड्युक २०० मा १९९.५ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्ब, डीओएचसी, एफआई इन्जिन जडान गरिएको छ । यसमा ६ स्पीड गियरबक्स छ ।
यसमा मल्टि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्टिभिटी वीथ हेडसेट पेयरिङ, सुपरमोटो एबीएस, पिस्टन डिसब्रेक, ट्वीन एलईडी हेडलाइट, डब्लूपी सस्पेन्सन सेटअप लगायतका फिचरहरू छन् ।
नेपाली बजारमा केटीएम ड्युक २०० को मूल्य ६ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । यो मूल्यका आधारमा एनएस २०० र अपाचे आरटीआर २०० भन्दा केही महँगो छ । प्रिमियम ब्राण्ड पोजिसनिङ तथा नन एसेम्बल इम्पोर्टका कारण यसको मूल्य तुलनात्मक रूपमा बढी पर्न गएको हो ।
निष्कर्ष
नेपाली बजारमा उपलब्ध तीन वटै २०० सीसी नेकेड मोटरसाइकलको डिजाइन, इन्जिन क्षमता, पावर र मूल्यमा फरक देखिन्छ । पावरको हिसाबले पल्सर एनएस अगाडि छ । ड्युक प्रिमियम ब्राण्ड र प्रदर्शनमा अब्बल छ । अपाचे आरटीआर कम मूल्यमै धेरै फिचर पाइने मोटरसाइकल हो । तपाईंले आफ्नो आवश्यकता र रोजाइ अनुसार उत्कृष्ट विकल्प छनोट गर्न सक्नुहुनेछ ।

