प्रिमियम सेग्मेन्टमा सफलताको स्वाद चाख्दै ३ स्कुटर, मूल्य लगभग उस्तै

काठमाडौं । स्कुटरको बजार हिस्सा बढेर ३५ प्रतिशतभन्दा माथि पुगेको आँकल सुरु भएको छ । दुई वर्ष अघिसम्म नेपालमा स्कुटरको बजार हिस्सा कुल दुई पाङ्ग्रे सवारी साधनको ३० प्रतिशत मात्रै थियो ।

विगत दुई वर्षमा ५ प्रतिशतले स्कुटरको बजार हिस्सा बढ्नुमा १२५ सीसी सेग्मेन्टमा आएका प्रिमियम स्कुटरको कारण हो ।

११० सीसी सेग्मेन्टमा होन्डा डियो र एभीएटर, टीभीएस ज्यूपिटर र वीगो तथा यामाहा फसिनो र रे जेडआरले मोटरसाइकलको बजार हिस्सा बढाउँदै लगेका थिए । दुई वर्षअघि आएको होन्डा ग्राजिया, टीभीएस एनटर्क, भेष्पा, अप्रिलिया र एक वर्षअघि आएको सुजुकी बर्गम्यान स्ट्रीटले प्रिमियम सेग्मेन्टमा राम्रो बिक्री पाएसँगै नेपालमा स्कुटरको बजार हिस्सा बढ्दै गएको हो ।

अहिले यामाहाले फसिनो र रे जेडआरलाई पनि १२५ सीसीमा बजारमा उतारेसँगै यो सेग्मेन्टमा निकै ठूलो प्रतिस्पर्धासमेत बढाएको छ । यस्तोमा यामाहा, टीभीएस र होन्डाबीच भने थप कडा प्रतिस्पर्धा सुरु भएको छ ।

विशेषत टीभीएस एनटर्क, होन्डा ग्राजिया र यामाहा रे जेडआर पावर, माइलेज, मूल्य र डिजाइनका आधारमा मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

इन्जिन र पावर

होन्डा ग्राजियामा १२५ सीसी एयर कुल्ड फोर स्ट्रोक इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८.५२ बीएच पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ ।

टीभीएस एनटर्कमा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यामाहा रे जेडआरमा १२५ सीसी एफआई बीएस ६ मापदण्डको इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले ८.२ पीएस पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ । अन्य दुई स्कुटरमा बीएस ४ इन्जिन उपलब्ध रहेपनि यामाहा रे जेडआरमा भने बीएस ६ इन्जिन रहेको छ ।

माइलेज

यामाहा रे जेडआरले प्रतिलिटर ५८ किलोमिटर, होन्डा ग्राजियाले ४५ किलोमिटर र टीभीएस एनटर्क रेस एडिसनले ४२ किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ ।

यी तीनवटै स्कुटरमा ५ लिटरभन्दा केही बढी इन्धन अट्ने फ्यूल ट्याङ्क दिइएको छ । एनटर्कमा ५.८, ग्राजियामा ५.३ र रे जेडआर ५.२ लिटर क्षमताको ट्याङ्क उपलब्ध रहेको छ ।

सस्पेन्सन र टायर

यी तीनवटै स्कुटरमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने, पछाडिको सस्पेन्सन फरक रहेको छ । ग्राजियामा थ्रि स्टेप एड्जस्टेवल स्प्रीङ लोडेड हाइड्रोलिक, रे जेडआर यूनिट स्वीङ र एनटर्कमा कुलिङ स्प्रीङको साथ हाइड्रोलिक डम्पर सस्पेन्सन पाउन सकिन्छ ।

ह्वीलको कुरागर्दा तीनवटै स्कुटरमा अगाडि १२ इन्चको ह्वील प्रयोग भएको छ भने पछाडिको ह्वील एनटर्कमा ठूलो रहेको छ । टीभीएसले एनटर्कमा पछाडिको ह्वील १२ इन्चको नै प्रयोग गरेको छ । तर, रे जेडआर र ग्राजियामा भने १० इन्चको ह्वील प्रयोग गरिएको छ ।

भेरियन्ट र मूल्य

टीभीएस एनटर्क तीन भेरियन्टमा किन्न सकिन्छ । कम्पनीले एनटर्क ड्रम, एनटर्क डिस्क र एनटर्क रेस एडिसन नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले क्रमश यी भेरियन्टको मूल्य २ लाख १५ हजार ९००, २ लाख ३७ हजार ९०० र २ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

होन्डा ग्राजिया दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्ट र डिलक्स भेरियन्ट बिक्री गर्दै आएको छ । यी दुबै भेरियन्टको मूल्य क्रमशः २ लाख १९ हजार ९०० र २ लाख ३९ हजार ९०० रुपैयाँ तोकेको छ ।

यामाहा रे जेडआर १२५ दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले रे जेडआर १२५ एफआईको मूल्य २ लाख २९ हजार ९०० र स्ट्रीट र्यालीको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ तोकेको छ ।


Back_to_top