काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एकैदिन करिब ३०० हवाई उडान भएको छ ।
सोमबार मौसम सफा भएसँगै लुक्लामा विमानस्थलमा हेलिकोप्टर र जहाजले गरी ३०० उडान गरेका हुन् ।
तेन्जिङ हिलारी विमानस्थल कार्यालयका अनुसार सोमबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म लगातार १२ घण्टामा उक्त संख्यामा उडान भएको हो ।
सोमबार लुक्लामा यस वर्षको शरद सिजनकै सबैभन्दा धेरै उडान भएको हो । लुक्लामा काठमाडौं र मन्थलीबाट तारा, समिट र सीता एयरले उडान गरेका हुन् ।
दिनभर विमानस्थल व्यस्त रहँदा लुक्लामा उडान गर्ने हवाई जहाज तथा हेलिकप्टर दुवैले पूर्ण क्षमतामा उडान भरेका छन् ।
हवाई मार्गबाट मात्रै सोमबार १६०० संख्यामा पर्यटक खुम्बु प्रवेश गरेका छन् । तीमध्ये हवाईजहाज मार्फत १३५० र हेलिकप्टरमार्फत २५० को हाराहारीमा पर्यटक लुक्ला ओर्लिएको विमानस्थलले जनाएको छ ।

