काठमाडौं । बाढी पहिरोका कारण देशभरका विभिन्न राजमार्गको ९ स्थानमा सडक पूर्ण रुपमा बन्द रहेको छ ।
नेपाल प्रहरीका अनुसार मंगलबार बिहान ९ बजेसम्म कोशी र बागमती प्रदेश ७ जिल्लाको ९ स्थानमा सडकखण्ड अवरुद्ध रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको रसुवागढीस्थित ल्हेन्दे खोलामा नेपाल चीन जोड्ने पुल बगाउँदा दुई देश बीचको यातायात सेवा ठप्प भएको हो । गत असार २४ गतेदेखि बन्द यो पुल अझै संचालनमा आउन सकेको छैन । साथै, गोसाइकुण्ड गाउँपालिकाको विभिन्न ३ ठाउँमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।
त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिका तीनपानेमा पहिरो जाँदा कान्ति लोकपथ, इलामको राजदुवली लगायत स्थानमा अविरिल वर्षाका कारण मेची राजमार्ग, भोजपुरकोे टैम्केमैयुङ गाउँपालिकाको श्रीदलमा पहिरो जाँदा मध्य पहाडी राजमार्ग पूर्ण रुपमा बन्द रहेको छ ।
त्यस्तै, काभ्रेपलाञ्चोक र सिन्धुलीको १ दर्जन बढी ठाउँमा बाढीले बगाउँदा बीपी राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेका छन् ।
पहिरोका कारण अवरुद्ध कान्ति लोकपथको मकवानपुर खण्ड, मध्यपहाडी राजमार्ग र कोशी राजमार्गको धनकुटा खण्ड भने एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।



