एमजी आइएम सिक्सको डेलिभरी सुरू, धमाधम टेस्ट ड्राइभ चल्दै

काठमाडौं । एमजीको सहायक ब्राण्ड आइएमको प्रिमियम मोडल आइएम सिक्सको डेलिभरी सुरू भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले दशैं सकिन लागेसँगै आइएम सिक्सको डेलिभरी थालेको हो ।

साउन अन्तिममा नै नेपाल ल्याउने गरी आयात भएको आइएम सिक्स चीन-नेपाल जोड्ने नाका प्रकृतिक प्रकोपको कारण बन्द हुँदा दशैं अगाडि पनि डेलिभरी दिन सकेको थिएन ।

‘हामीले नाइमा मोविलिटी एक्स्पोपछि डेलिभरी दिनेगरी गाडी मगाएका थियौं । तर, काठमाडौं गाडी ल्याउने बाटो नै पहिलो र बाढीको कारण बन्द भयो । अब बल्ल गाडी ल्याएका छौं । डेलिभरी सुरू भएको छ’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर शुनिल बहादुर क्षत्रीले मेरोअटोसँग भने ।

आइएम सिक्स एउटा मात्रै भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो रिभ्यू पाएको एसयूभीको सेन्टर कन्सोलमा रहेको ‘फ्लीप डाउन वाइड स्क्रीन टीभी’ले क्याविनलाई निकै प्रिमियम देखाएको छ । विश्व बजारमा टेस्ला मोडल वाइसँग यसको सिधा प्रतिस्पर्धा सुरु भएको छ ।

बीएमडब्लू आइ सेभेनमा जस्तै फ्लीप डाउन टीभी, पोर्शले प्रयोग गरेको जस्तो चाबी, टेस्लाको जस्तो विङ मिरर, फियत ५०० कै जस्तो डोर ह्याण्डल रहेको एसयूभी निकै प्रिमियम फिल दिन सक्षम छ ।

त्यसका अलावा रोल्स रोयसको जस्तै नरम लाग्ने म्याट, हुन्डाईको जस्तो ब्लाइन्डस्पट क्यामेरा, बीएमडब्लूको जस्तो अटोनोमस रिभर्सिङ टेक फिचर यसमा पाउन सकिन्छ ।

इलेक्ट्रीक कार उद्योगकै अग्रणी ८०० भोल्ट आर्किटेक्चरमा बनेको आइएम सिक्सलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १७ मिनेट लाग्छ । जुन हुन्डाई आयोनिक फाइभ जत्तिकै तिब्र चार्ज हुन्छ । जुन मूल्यका हिसाबले आयोनिक फाइभभन्दा सस्तो छ ।

सेल्फ पार्किङ फिचरको साथ आएको आइएम सिक्समा बस्ने यात्रुले हिटेड र भ्यान्टिलेटेडसँगै मसाज सिटको आनन्द उठाउन सक्नेछन् । जुन मसाज सिट एमजीका एसयूभीमा पहिलो पटक आएको हो ।

ड्यासबोर्डमा २६ इन्चको स्कृन पाउन सकिन्छ । जसमा इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लष्टरको दुई भाग रहने छ ।

बाहिरी बनोटमा पनि तपाईं पछाडिबाट हेर्दा एस्टन मार्टिनको जस्तै डकटेल स्पोइलर र एकीकृत लाइटबार दिइएको छ । फ्रन्ट र छेउको भाग टेस्लाबाट प्रेरित देखिन्छ ।

आइएम सिक्समा ‘एडी’ नामक स्मार्ट ड्राइभिङ एसिस्ट दिइएको छ । कम्पनीका अनुसार एडी स्मार्ट ड्राइभिङ एसिस्ट निकै सुरक्षीत छ । यसको पूर्ण प्रयोगले चालकको भन्दा ६.७ गुणा बढी सुरक्षा पाउन सकिन्छ । यसमा रहेको अटोनोमस पार्किङ एसिस्टेन्स पनि निकै रोचक छ । त्यो के भने पार्किङ सेन्सर मात्रै यसमा ३०० वटा प्रयोग भएको कम्पनीको भनाइ छ ।

युवालाई आकर्षित गर्न २० स्पीकर सहितको अडियो सिस्टम यसमा दिइएको छ । जसले थ्रिएटरको अनुभव दिलाउने छ ।

कम्पनीले १०९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा यसलाई नेपाल ल्याएको हो । जसको पीकटर्क ४५० न्युटन मिटर छ । ७५ किलोवाट आवरको टर्नरी ब्याट्रीले सिंगल चार्जमा ५०० किलोमिटर आसपास रेन्ज दिने कम्पनीको दावी छ ।

एमजी आइएम सिक्स मोडललाई ‘लिजार्ड डिजिटल चेसिस’मा कम्पनीले तयार गरेको हो । निकै इन्टेलिजेन्ट फिचरको साथ उपलब्ध क्रसओभर मोडलमा हाइ-प्रिकसन लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, ‘क्वालकमको स्न्यापड्रागन एसए ८२९५ पी प्लेटफर्म’सहितको स्मार्ट ककपिट पाउन सकिन्छ ।


Back_to_top