रोयल इनफिल्डले नेपालमा बनायो ३० हजार मोटरसाइकल, अब सबै नयाँ इन्जिनमा

काठमाडौं । नेपालमा मिडसाइज मोटरसाइकल सेग्मेन्टमा लिडर रोयल इनफिल्डले नेपालमै ३० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ ।

सन् २०२२ देखि नेपालमै एसेम्बल सुरू गरेको कम्पनीले ३ वर्षमा ३० हजार युनिट मोटरसाइकल उत्पादन गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रममा नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ३० हजार युनिट मोटरसाइकल एसेम्बल गरिएको जानकारी दिएको हो ।

रोयल इनफिल्डको नेपालको डिलरशिप दुगड ग्रुपबाट सांघाई ग्रुपमा आएपछि एसेम्बलसँगै बिक्रीमा पनि आक्रमक बनेको हो । कम्पनीले हाल नेपालमा रोयल इनफिल्डका हिमालयन, क्लासिक, मेटियर, स्क्रयाम र हन्टर मोडल एसेम्बल गर्दै आएको छ ।

रोयल इनफिल्ड इन्डियाका मार्केटिङ हेड, राइड एण्ड कम्युनिटी मोहित भिनिले नेपालमा ३ वर्षमै ३० हजार युनिट एसेम्बल हुनु ठूलो उपलब्धि रहेको बताए ।

‘अल्फा अटोमोटिभले भारतमा जस्तै मिड साइज सेग्मेन्ट लिड गरिरहेको छ । कम्पनीले ३ वर्षको छोटो समयमै ३० हजार युनिटभन्दा धेरै मोटरसाइकल एसेम्बल गरेको छ । यो ठूलो एचिभमेन्ट हो,’ उनले भने ।

उनले नेपालको एड्भेन्चर टुरिजममा रोयल इनफिल्डले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

नयाँ मोडल भित्र्याउन आक्रमक

कम्पनीले पछिल्लो समय नेपालमा आक्रमक रुपमा रोयल इनफिल्डका नयाँ मोडल भित्र्याइरहेको छ । कम्पनीले एक महिनाको अन्तरालमै दुई मोडलका अपडेटेड मोटरसाइकल बजारमा ल्याएको हो ।

कम्पनीले कात्तिक अन्तिममा मेटिअर ३५० र सोमबार मात्रै हन्टर ३५० को बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।

अल्फा अटोमोटिभले हन्टर ३५० अपडेटेड भेरियन्टको सुरूवाती मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र मेटिअर ३५० को सुरूवाती मूल्य ५ लाख ७७ हजार रुपैयाँ तोकेको छ ।

सबै लाइनअप बीएस ६

रोयल इनफिल्डका नेपालमा उपलब्ध सबै लाइनअपमा मोटरसाइकल बीएस ६ मापदण्डका भएका छन् । नेपाल सरकारले युरो ६ मापदण्ड लागू गरेसँगै कम्पनीले आफ्ना सबै मोटरसाइकलको इन्जिन अपडेट गरेको हो ।

नयाँ हन्टरसँगै सबै मोडल बीएस ६ इन्जिनमा उपलब्ध भएका छन् । रोयल इनफिल्ड क्लासिक ३५०, हिमालयन ४५०, स्क्रयाम ४४० र मेटिअर ३५० यसअघि नै बीएस ६ इन्जिनमा थिए ।

कम्पनीले बजारमा ल्याएका मोटरसाइकलमा इन्जिनसँगै फिचर समेत थप गरेको छ ।


Back_to_top