एक्साभेटरले हिर्काएर वडा अध्यक्षको हत्या

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्साभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।

सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको थियो । नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्साभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।

नगरपालिका प्रमुख मनोज कुमार देवकोटाका अनुसार पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एक्साभेटर चालक तामाङले खाजा खाएका थिए । खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य भनाभन भएको थियो । खाजा खाएर उनीहरु पोखरी हेर्न गए । पोखरी हेरेर फर्किने क्रममा चालक तामाङले श्रेष्ठको टाउको र छातीमा बकेटले हिर्काएको नगरप्रमुख देवकोटाले बताए ।

चालक तामाङ र ठेकेदार दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्राेत:अनलाइनखबरबाट


Back_to_top