हराएका ३९४ सवारी धनीलाई फिर्ता, ३६ चोर पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हराएका ३९४ थान दुईपाँग्रे सवारी साधन फेलापारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत साउनदेखि चैत मसान्तसम्म हराएका ३९४ मोटरसाइकल तथा स्कुटर फेला पारी धनीलाई फिर्ता गरेको हो । कार्यालयले सोमबार मात्रै ५० वटा सवारी हस्तानतरण गरेको छ ।

ट्राफिकले कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सूचनाका आधारमा खोजी गर्छ । चोरीका सवारीमा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार हराएका मोटरसाइकल उपत्यकाका भिमढुङ्गा, स्वयम्भू, नेपालटार, चमती, कपन, थली, बौद्ध, साँखु, नयाँबस्ती, गोकर्ण, माछापोखरी, महाराजगंज, सुकेधारा, पुल्चोक, साङ्ला, फस्कु, चापागाँउ, गठ्ठाघर, एयरपोर्ट, कमलबिनायक, मालिगाउँ, काँडाघारी, जनसेवा, जम्बुडाँडा, मण्डिकाटार, चुनदेवी लगायतका स्थानबाट फेला पारिएको हो ।

त्यस्तै, प्रहरीले चालु वर्षमा चोरीका २२ वटा दुईपाँग्रे सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै जीपीएस जडान, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न कार्यालयले अनुरोध समेत गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।।


Back_to_top