काठमाडौं । तपाईं ४५ लाख रुपैयाँभन्दा कम मूल्यमा नै कम्प्याक्ट एसयूभी किन्ने योजना बनाउँदै हुनुहुन्छ भने बजारमा थुप्रै छनोट पाउन सक्नु हुन्छ ।
अहिले नेपाली बजारमा कम्प्याक्ट एसयूभी नै ४० लाख रुपैयाँभन्दा कम मूल्यमा किन्न पाइन्छ । डोङफेङ नामी, केई, एमजी र बीवाइडीले ४५ लाखभन्दा कम मूल्यमा नै कम्प्याक्ट एसयूभी बिक्री गर्दै आएका छन् ।
यी एसयूभी साइजमा मात्रै ठूला छैनन् । यसमा रहेका फिचरहरू निकै प्रविधिमैत्री पनि छन् । बाटोमा चलाउँदा नै ३०० किलोमिटर माथि रेन्ज दिने यी कम्प्याक्ट एसयूभीले राम्रै संख्यामा बिक्री पनि पाइरहेका छन् ।
मूल्यका हिसाबले उत्कृष्ट लाग्ने चार मोडलका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
१. डोङफेङ नामी भिगो : डोङफेङ नामी ब्राण्डमा नेपाल आएको पहिलो कम्प्याक्ट एसयूभी भिगो आकर्षक डिजाइनको कारण राम्रो बिक्री पाइरहेको मोडल हो ।

अहिले भिगो दुई भेरियन्टमा किन्न पाइन्छ । यसको इन्ट्री भेरियन्ट ईटुको मूल्य ३९ लाख ९९ हजार र टप भेरियन्ट ईटु प्लसको ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुवै भेरियन्टमा ब्याट्री साइज पनि फरक छ ।
कम मूल्यको ईटु भेरियन्टमा ४४.९४ किलोवाट आवर र अर्को ईटु प्लस भेरियन्टमा ५१.८७ किलोवाट आवरको ब्याट्री छ । दुवै भेरियन्टमा मोटर भने समान ९९ किलोवाट क्षमताको छ ।
२. केई एक्सथ्री प्रो : केईका उत्पादन लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइलले बिक्री गर्दै आएको छ । यसको मूल्य ३९ लाख ९६ हजार रुपैयाँ छ । कम्पनीले ४६ लाख ९६ हजार मूल्य राखे पनि निरन्तर अफर मूल्य दिइरहेको छ ।

केई एक्सथ्री प्रोमा ५३.६ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री छ । सुरूमा १२० किलोवाटको मोटरमा उपलब्ध एक्सथ्री प्रो अहिले ९९ किलोवाटको मोटरमा पनि उपलब्ध हुनेछ ।
३. एमजी एस फाइभ : एमजी एस फाइभको डिलक्स भेरियन्ट ४३ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको कम्प्याक्ट एसयूभी हो । निकै सार्प डिजाइन, पछाडि इन्डिपेन्डेन्ट सस्पेन्स र रियर ह्वील ड्राइभ सिस्टमको साथ एस फाइभ बजारमा उपलब्ध छ ।

नेपाली बजारमा एमजी एस फाइभको डिलक्स भेरियन्ट ९९ किलोवाटको मोटर र ४९.१ किलोवाट आवरको एलएफपी ब्याट्रीको साथ उपलब्ध छ । एक वर्षभन्दा कम समयमा नै १ हजारभन्दा बढी युनिट ल्याइसकेको छ ।
४ं बीवाइडी एटो टु : पछिल्लो दिनमा नेपाल आएर सर्वाधिक चर्चा र बिक्री पाउन सफल बीवाइडी एटो टुको मूल्य ४३ लाख ९९ हजार नै थियो । कम्पनीले गत साताबाट यसको मूल्य एक लाख रुपैयाँले वृद्धि गर्दै ४४ लाख ९९ हजार रुपैयाँ बनाएको छ ।
बीवाइडीका कारको बढ्दो विश्वसनियता र लोकप्रियतामा एटो टु पनि खरो उत्रियो । कम्पनीले यसमा १०० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । कम्पनीको ५१ किलोवाट आवरको चर्चित ब्लेड ब्याट्री रहेको एटो टुले पनि १ हजार युनिट बिक्री पूरा गरिसकेको छ ।

