नाडा अटो शोमा सस्तो कार खोज्नेले हेर्न छुटाउनै नमिल्ने ५ मोडल

काठमाडौं । नाडा अटो शो २०२५ को आज तेस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२५ मा साना कारको बलियो उपस्थिति देख्न पाइन्छ ।

अटो शोमा १८ लाख ९९ हजार रुपैयाँदेखि २ करोड २० लाख रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय कारहरू बिक्रीका लागि उपलब्ध छन् । ती मध्ये कम मूल्यमै किन्न पाइने ५ कारका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

खासगरी जिङपिङ लिङबक्स, चांगान लुमिन, टाटा टियागो ईभी, बीवाइडी एटो-वान र डोङफेङ नामी-०१ ह्याचब्याक कार कम मूल्यमै खरिद गर्न सकिन्छ ।

अटो शोमा आएर गाडी बुकिङ गर्ने र पछि खरिद गर्ने ग्राहकको लागि बिक्रेताहरूले स्कीम पनि दिएका छन् । बिक्रेताहरूको स्कीम नगद छुटसँगै विभिन्न अफरमा केन्द्रित छ ।

जिङपिङ

ठाकुर मोटर्सले नेपाल ल्याएको जिङपिङ ब्राण्डको लिङबक्स मोडल दुई भेरियन्टमा उपलब्ध छ । लिङबक्स ह्याचब्याकको इन्ट्री भेरियन्ट बेसिकको मूल्य १८ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसको दुवै भेरियन्टमा ३५ किलोवाट आवर पीकपावर भएको मोटर छ । यसको बेसिक भेरियन्टमा १९.२ किलोवाट आवर र प्रिमियम भेरियन्टमा ३१.४५ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री छ । जसको एनईसीडी रेन्ज क्रमशः २४० र ३४० किलोमिटर प्रमाणित छ ।

लुमिन मिनी

चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले २२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री थालेको लुमिन मिनी निकै प्रिमियम देखिएको छ । आकर्षक डिजाइन भएको मिनी कार फिचरमा पनि बलियो देखिन्छ ।

चांगान लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर तथा २८.०८ किलोवाट आवरको सीएटीएलले बनाएको ब्याट्रीप्याक छ । यसले सिंगल चार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

टाटा टियागो ईभी

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी नाडा अटो शोमा राखेको छ । कम्पनीले अटो शोको दोस्रो दिन टियागो ईभीको नयाँ ‘एरिजोना ब्लू कलर’ सार्वजनिक गरेको हो ।

टाटा टियागो ईभी दुई भेरियन्टमा किन्न पाइन्छ । टियागो ईभी एक्सटी भेरियन्टको मूल्य २७ लाख ४९ हजार र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ ।

टियागो ईभी ४८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध छ । साथै, यसमा ब्याट्री भने २४ किलोवाट आवरको पाउन सकिन्छ । कम्पनीले नाडामा गाडी किन्नेलाई आफ्नो देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क चार्जिङ सुविधा, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, अटोप्लस इन्स्योरेन्स, निःशुल्क एक्सेसरिज र १ वर्षको भेहिकल ट्याक्स, घरमै निःशुल्क चार्जिङ स्टेसन इन्स्टलेसन र निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडान गरिदिनेछ ।

बीवाइडी एटो-वान

बीवाइडीको नयाँ ह्याचब्याक कार एटो-वान निकै मोर्डन डिजाइनमा उपलब्ध कम मूल्यको कार हो । साइमेक्स इंकले २८ लाख ९५ हजार सुरूवाती मूल्य तोकेर बिक्री गर्दै आएको एटो-वानको टप भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ ।


यी दुवै मेरियन्टमा समान ४५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । ब्याट्री भने भेरियन्ट अनुसार फरक पाउन सकिन्छ । एटो-वानको डाइनामिक भेरियन्टमा ३० किलोवाट आवर र प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री छ ।

डोङफेङ नामी-०१

नामी ह्याचब्याक कार बजारमा उपलब्ध कम मूल्यकै मध्येको एक मोडल हो । यसको टप भेरियन्ट ई-थ्रीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ । यस मूल्यमा पनि कम्पनीले विभिन्न किसिमका अफर दिँदै आएको छ ।
नामी-०१ ह्याचब्याकको टप भेरियन्टमा ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४२.३ किलोवाट क्षमताको एलएफपी ब्याट्री दिइएको छ । जसको रेन्ज ३१७ किलोमिटर दाबी गरिएको छ ।


Back_to_top