काठमाडाैं । भारतमा लामो समय जनताको मनमा बस्न सफल केही कारहरू आजको दिनमा उत्पादन बन्द भएका छन् । केही कम्पनीले आफ्नो सम्पत्ति दोस्रो कम्पनीलाई बिक्री गरेका छन् भने केही कम्पनी अहिले निकै सफल भए पनि सर्वसाधारणको मनमा बस्न सफल कारका मोडलहरू बन्द गरेर बसेका छन् ।
ती कार जसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएर पनि समयसापेक्ष अपग्रेड नगर्दा बन्द हुनुपरेको थियो । अब यी सफल कारहरू पुन बजारमा ल्याउने तयारीमा कम्पनीहरू जुटेका छन् ।
हुन्डाई सेन्ट्रो
हुन्डाई मोर्टसले भारतीय बजारमा २० वर्ष पूरा गरेको छ । भारतीय बजारमा हुन्डाइको सर्वाधिक सफल मोडल सेन्ट्रोको विगत ५ वर्षदेखि उत्पादन बन्द रहेको छ । कम्पनीले आधिकारीकरुपमा नयाँ सेन्ट्रो ल्याउने घोषणा गरेको छ र परीक्षणको क्रममा भारतीय सडकमा थुप्रैपटक स्पर्टसमेत भइसकेको छ । विभिन्न मिडियाले लगाएको अनुमान मान्य हो भने अबको केही महिनापछि नयाँ सेन्ट्रो बजारमा आउनेछ ।
एम्बेस्डर कार
भारतीय नेताहरूको पहिलो रोजाईमा परेको एम्बेस्डर कार हिन्दुस्तान मोटरले बिक्री गरेपछि पुनः उत्पादनको तयारी सुरु भएको छ । २०१७ को जनवरीमा ८० करोड रुपैयाँमा फ्रान्सेली कार निर्माता कम्पनी पिउजोले खरिद गरेको थियो । कम्पनीको स्वामित्व खरिदपछि पिउजोले कम्पनीमा भारतीय पीएसएस ग्रुपसँगको संयुक्त लगानीमा ७०० करोड भारतीय रुपैयाँ थप लगानीमा पुनः उत्पादन गर्ने तयारी भइरहेको छ ।
त्यस्तोमा पुनः एम्बेस्डरको नामबाट कम्पनीले कार ल्याउँछ वा अन्य नयाँ बनाउँछ, त्यसबारे कम्पनीले केही खुलाएको छैन । तर, धेरैले पुनः एम्बेस्डर कार २०२० बाट बजारमा आउने आँकलन गरेका छन् ।
होन्डा सिविक
यस वर्षको दिल्ली मोटर शोमा होन्डाले आफ्नो चर्चित कार सिभिकलाई प्रदर्शनीमा राखेको थियो । सन् २००६ मा बजारमा आएको स्पोर्टी लुक्स सेडान कार सिभिकले धेरैको मन जित्न सफल भएको थियो । तर, २०१३ मा उत्पादन नै बन्द भएको यो कार २०१९ को बीचसम्ममा बजारमा आउने आँकलन गरिएको छ ।
मारुती जेन
सन् १९९३ बाट उत्पादन सुरु भएर २०१० मा बन्द भएको मारुती सुजुकी जेन किनै चर्चित कारमा पर्छ । यस वर्षमो दिल्ली अटो-शोमा कम्पनीले फ्यूचर एस नामबाट एउटा कन्सेप्ट कार सार्वजनिक गरेको थियो । यही जेन भएको मान्नेहरू निकै रहेका छन् । ७ लाख ६० हजार युनिट कार त्यतिबेला बिक्री गरेको कम्पनीले यसलाई नयाँरुपमा बजारमा ल्याउन सक्छ ।
मारुती सुजुकी जिप्सी
कम्प्याक्ट एसयूभीमा धेरैको चासो र अधिकाशंको रोजाईमा पर्न थालेसँगै मारुती सुजुकीले जिप्सीकोसमेत निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले २०२० को अन्त्यसम्ममा जिप्सीको पुनः उत्पादन गर्ने अनुमान गरिएको छ ।