काठमाडौं । बजारमा विद्युतीय कारको चर्चा खुबै हुन थालेको छ । मूल्यको हिसाबले १३ लाखदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विद्युतीय कार किन्न पाइने भएपछि चर्चा हुनु स्वभाविक हो ।
फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रीक सीथ्री मोडललाई हामीले ५०० किलोमिटरभन्दा बढी चलाएपछि यसको अनुभव तपाईंहरूसँग सेयर गर्न लागेका हौं ।
मूल्यको हिसाबले औसत लाग्ने इलेक्ट्रीक सीथ्री मोडल चलाउँदा र यात्रु सिटमा बस्दा भने निकै लग्जरी अनुभव गर्न पाइन्छ । नेपाल भौगोलिक हिसाबले कठिन भएकै कारण ईभी चलाएर धेरै स्थानमा जान सकिँदैन भन्नेहरू छन् । हुन पनि ईभीमा लामो यात्रा गर्दा ‘रेन्ज एन्जाइटी’ले सताउने गर्छ ।
साइजका हिसाबले ४ मिटरभन्दा केही मिलिमिटर मात्रै छोटो भएको कारण सामान्य ह्याच ब्याकभन्दा यसमा धेरै स्थान पाउन सकिन्छ । यसको ड्यासबोर्ड पनि सानो आकारमा निर्माण गरिएको कारण अगाडि धेरै स्थान पाउन सकिन्छ । ठ्याक्कैभन्दा नेक्सन ईभी र यसको साइज उत्रै हो ।
सांग्रिला मोटर्सले इलेक्ट्रीक सीथ्रीको ‘फिल विथ भाइब’ प्याक भेरियन्ट टेष्ट ड्राइभको लागि उपलब्ध गराएको थियो । यसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ छ । अहिले कम्पनीले यसमा १ लाख नगद छुट दिइरहेको छ । यस हिसाबले ३४ लाख रुपैयाँ तिरेर यो इलेक्ट्रीक कार किन्न सकिन्छ ।

ड्राइभिङ एरिया र रेन्ज
यसको ड्राइभिङ अनुभव सेयर गर्नुअघि यसमा रहेको ब्याट्री र मोटरको विषयमा चर्चा गर्नु उपयुक्त हुन्छ । कम्पनीले यसमा २९ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । साथमा रहेको ४२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर यसमा पाउन सकिन्छ । यो गाडी फ्रन्ट ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ ।
यसमा रहेको ब्याट्री साइजलाई आधार मानेर काठमाडौंको थलीबाट ललितपुरको चापागाँउ हुँदै कान्तिलोक मार्गबाट हेटौंडा र त्यहाँबाट चन्द्रपुर (पुरानो चन्द्रनिगाहपुर) सम्म गाडी चलाउने निधो गरियो । हामीले चलाउन सुरू गर्दा यो गाडीको पर्फमेन्स, रेन्ज र आरामदायी कत्तिको छ भन्ने हेर्न चाहेका थियौं । यी तीनवटै कुरामा गाडीले सन्तुष्ट बनायो ।
काठमाडौंबाट यात्रा सुरू गर्दा गाडीमा ८२ प्रतिशत चार्ज थियो । हेटौंडा पुग्दा ५० प्रतिशत बाँकी नै थियो । त्यहाँ ३५ प्रतिशत थपेर ८५ प्रतिशत रिचार्ज पुगेपछि हामी चन्द्रपुर पुगेका थियौं । चन्द्रपुर पुग्दा गाडीमा ६२ प्रतिशत चार्ज बाँकी नै थियो ।
त्यही घरायसी चार्जरले राति चार्ज गरेर १०० प्रतिशत चार्ज गरेपछि भोलिपल्टको हाम्रो यात्रा सुरू भयो । तराईमा सितलहर कै अवस्था थियो । यात्रामा चन्द्रपुरबाट गढीमाई मन्दिर, त्यसपछि कलैया–वीरगञ्ज हुँदै हेटौंडा पुगेर चार्ज गर्ने योजना सुरूमै बनाएका थियौं ।
हामी हेटौंडा आइपुग्दा गाडीमा ४० प्रतिशत चार्ज थियो । त्यहाँ ४६ प्रतिशत चार्ज थपेर ८६ प्रतिशत भएपछि हाम्रो काठमाडौंको यात्रा सुरू भयो । काठमाडौंको यात्रामा धेरै उकालो बाटो पर्ने भएको कारण मनमा केही डर थियो । तर, बागमती आइपुग्दासम्म गाडीमा ६६ प्रतिशत चार्ज बाँकी रहेको कारण ढुक्क भइयो । काठमाडौंको थली आइपुग्दा गाडीमा ३२ प्रतिशत चार्ज बाँकी नै थियो । यति यात्रापछि ढुक्कसँग यसले २१० देखि २३० किलोमिटर रेन्ज सिंगल चार्जमा दिन्छ भन्न सकिन्छ ।

ड्राइभिङ अनुभव
बजारमा उपलब्ध ४ मिटरभन्दा छोटा एसयूभी चलाएकोभन्दा राम्रो फिल यसमा पाउन सकिन्छ । यसको सस्पेन्सन यति राम्रो छ कि खाल्डाखुल्डी भएको बाटोमा चलाउँदा पनि चालक र यात्रुले आरामदायी यात्रा पाउन सक्छन् ।
यसमा रहेको १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले निकै सानो लाग्ने ड्यासबोर्डमा केही रौनकता थपेको पाइन्छ । डिजिटल क्लष्टरमा ब्याट्री खपत निकै राम्रोसँग हेर्न पाइन्छ । साथै रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उत्कृष्ट छ ।
मलाई मन परेको अर्को पक्ष यसको सेन्टर कन्सोल हो । जहाँ यति धेरै सामान राख्ने ठाँउ पाउन सकिन्छ । पर्स, ४÷५ वटा मोबाइल, पानीको कपसम्म सेन्टर कन्सोलमा राख्न सकिन्छ ।
निकै सहज लाग्ने स्टेरिङ ह्वील, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट र दुई किसिमको ड्राइभिङ मोडलले चालकलाई निकै सहज बनाउँछ । कम्पनीले यसमा नर्मल र ईको गरी दुई मात्रै ड्राइभिङ मोड दिएको छ ।

सुधार गर्दा राम्रो
आरामदायी यात्रा र ड्राइभिङ कम्फर्टको आधारमा निकै मजबुत गाडीमा केही कुरा सुधार गर्दा ग्राहकमा कन्फिडेन्ट आउने देखिन्छ । यसमा हिल होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक र अगाडि आर्मरेष्ट मिस हुन्छ ।

निष्कर्ष
मूल्य, साइज, कम्फर्ट र पर्फमेन्समा इलेक्ट्रीक सीथ्री पर्फेक्ट कार हो । सहरी क्षेत्रमा चढेर हिँड्दा निकै आकर्षक रोड प्रेजेन्स पाउन सकिन्छ । कहिलेकाहिँ काठमाडौं बाहिर जाँदा पनि चार्जिङको योजना बनाएर गएको खण्डमा ३००/४०० किलोमिटर यात्रा गर्न कुनै समस्या छैन । १८० एमएमको ग्राउन्ड क्लियरेन्स खराब बाटामा पनि पुग्दो हुन्छ ।
फ्रेन्च लिगेसी, नियमित फास्ट चार्जरबाट चार्ज गर्न मिल्ने प्रविधि र ठूलो बुट स्पेश भएकै कारण तपाईंको लागि पनि यो कार उपयुक्त हुनसक्छ । एक पटक तपाईंले पनि टेष्ट ड्राइभ गरेर हेर्नुहोस् ।

