जेनजी आन्दोलनमा प्रहरीका मात्रै ५५१ सवारीमा आगजनी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका मात्रै ५५१ वटा सवारी साधनमा आगजनी भएको छ ।

आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन गर्न गठित प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीको संयोजकत्वको कार्यदलले तयार पारेको आन्तरिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार प्रहरीको दैनिक कार्य संचालनका लागि प्रयोग हुँदै आएका ५५१ वटा सवारीसाधनमा प्रदर्शनकारीले आगजनी गरेका थिए। तीमध्ये ४९४ वटा सवारीसाधन पूर्ण र ५७ वटामा आंशिक क्षति पुगेको छ ।

जसमा ३०९ वटा मोटरसाइकल, १४९ वटा हलुका सवारी साधन, ३३ वटा हेभी र ३ वटा तीनपाँग्रे सवारी साधन जलेर नष्ट भएका हुन् । प्राप्त विवरण अनुसार सवारी साधनमा मात्रै झण्डै एक अर्ब रुपैयाँ बराबरको क्षति भएको हो ।

प्रहरीका अनुसार विभिन्न समयमा खरिद गरिएका, विभिन्न निकायहरूले उपलब्ध गराएका सवारी साधन जलाइएका हुन् ।


Back_to_top