काठमाडौं । काठमाडौं उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको बागमती नगरपालिका ६ घर भई काठमाडौंको बौद्ध पिपलबोट बस्ने ३२ वर्षीय रविन मोक्तान र सिन्धुपाल्चोक घर बताउने ३० वर्षीय विवेक बिकलाई नियन्त्रणमा लिएको हो ।
को ३९ प ३०९९ नम्बरको स्कुटर चलाइरहेको अवस्था मोक्तानलाई गत २२ गते भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोट गैरीगाउँ फूलचौकीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल मोरङका सुजन पोखरेलले काठमाडौँको अत्तरखेलबाट असोज १७ गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । मोक्तानलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रभाग खरिपाटी भक्तपुर पठाइएको छ ।
त्यस्तै बा ८४ प १८४४ नम्बरको स्कुटर चलाइरहेको अवस्थामा बिकलाई काठमाडौंको टोखा नगरपालिका ३ बाट हिजो दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त स्कुटर पर्साकी ज्योती कुमारी चौधरीले काठमाडौंकै शंखपार्कबाट असोज २१ गते हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।
स्कुटर सहित नियन्त्रणमा आएका बिकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले सम्पूर्णमा अनुरोध गरेका छन् ।
ट्राफिकले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।


