काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को आज तेस्रो दिन हो । एक्स्पोमा करिब १५ नयाँ मोडलका चार पाङ्ग्रे सवारी साधन लन्च भएका छन् ।
मूल्यका हिसाबले २९ लाखदेखि झण्डै १ करोड रुपैयाँसम्म पर्ने कारहरू नयाँ आए । त्यसमा बीवाइडी एटो-वान, लीपमोटर बी-१०, जेको जे-फाइभ, फरथिङ फ्राइडे, महिन्द्रा बीई-सिक्स र एक्सईभी नाइन ई छन् ।
त्यसैगरी, आइएम-सिक्स, बीवाइडी सिलायन-सेभेन, माज्दा सीएक्स-६०, फक्सवागेन भर्टुस पनि अटो शोमार्फत बिक्री सुरू भएका नयाँ कार हुन् । विद्युतीय कारको बाहुल्यता रहेको अटो शोमा बिक्रेताहरू बीच तीव्र प्रतिस्पर्धा सुरू भएको छ ।
कुनको मूल्य कति ?
बीवाइडी एटो-वान
मोबिलिटी एक्स्पोमा लन्च भएको सबैभन्दा सस्तो मोडल हो बीवाइडी एटो-वान। साइमेक्स इंकले दुई भेरियन्टमा ल्याएको एटो-वानको स्ट्याण्डर्ड रेन्जमा डाइनामिक र लङ रेन्जमा प्रिमियम गरी दुई भेरियन्ट छ ।
कम्पनीले स्ट्याण्डर्ड रेन्जमा ३०.०८ किलोवाट अवार र लङ रेन्जमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनईडीसीले प्रमाणित गरेको छ ।
डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
जेको जे-फाइभ
चिनियाँ ब्राण्ड ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले बिक्री थालेको जे-फाइभ मोडल रेन्ज रोभरको लुककै कारण चर्चामा छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध जे-फाइभमा ५८.९ किलोवाट आवरको ब्याट्री र १५५ किलोवाटको इलेक्ट्रीक मोटर छ ।

एसपीजी अटोमोबाइलले जे-फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोको भए पनि नाइमा अफर भन्दै ५६ लाख ९९ हजार रुपैयाँमा नै गाडी बुकिङ लिइरहेको छ । जेको जे-फाइभले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
लीपमोटर बी-१०
मोबिलिटी एक्स्पोमा बिक्री सुरू भएको बी-१० एसयूभी पनि मूल्यकै कारण चर्चामा छ । ४९ लाख ९९ हजार रुपैयाँ सुरूवाती मूल्य तोकेर बिक्री सुरू भएको बी-१० दुई भेरियन्टमा पाउन सकिन्छ । दुवै भेरियन्टमा मोटर समान १६० किलोवाटको छ ।

साँग्रिला मोटर्सले बी-१० एसयूभीको टप भेरियन्टको मूल्य भने ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले बी-१० एसयूभीको कम मूल्यको भेरियन्टमा ५६.२ र महँगो भेरियन्टमा ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ ।
महिन्द्रा बीई-सिक्स
अटो एक्स्पोमा निकै चर्चा कमाइरहेको बीई-सिक्सको मूल्य ५७ लाख रुपैयाँबाटै सुरू भएको छ । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बीई-सिक्सलाई तीन भेरियन्टमा उपलब्ध गराएको छ ।

बीई सिक्सको प्याक वानको मूल्य ५७ लाख, प्याक टुको मूल्य ६१ लाख र प्याक थ्रीको मूल्य ६८ लाख कायम गरेर बिक्री सुरू गरेको हो । महिन्द्राले बीई-सिक्समा ५९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाटको मोटर दिएको छ ।
फरथिङ फ्राइडे
लक्ष्मी इमोबिलिटीले नेपाल ल्याएको फरथिङ नेपालमा अटो एक्स्पो मार्फत डेब्यू गरेको हो । फरथिङको फ्राइडे एसयूभी साइज र मूल्यका हिसाबले राम्रो रहेको प्रतिक्रिया आइरहेका छन् ।

कम्पनीले ६४.४ किलोवाट आवर क्षमताको ब्याट्री भएको एसयूभीको सुरूवाती भेरियन्ट ४८ लाख ९६ हजार र टप भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकेको हो । कम्पनीले यो मूल्य नाइमा अफर भएको जनाएको छ । फ्राइडे एसयूभीमा ९९ किलोवाटको मोटर छ ।
महिन्द्रा एक्सईभी-९ ई
महिन्द्राले नै कुपे एसयूभी सेग्मेन्टमा एक्सईभी-नाइन ई पनि ल्याएको छ । कम्पनीले विभिन्न तीन भेरियन्टमा यसलाई ल्याउने छ । अग्नी इनकर्पोरेटले एक्सईभी-नाइन ई को सुरुआती मूल्य ६९ लाख रुपैयाँ तोकेको छ ।

यसको सुरूका दुई भेरियन्ट ५९ किलोवाट आवर र टप भेरियन्ट ७९ किलोवाट आवरको ब्याट्री साइजमा उपलब्ध हुनेछन् । यसमा मोटर पनि ९९ र १९९ किलोवाट क्षमताको हुनेछ ।

