काठमाडौं । हालै भारतीय बजारमा आएको यामाहाको नयाँ मोटरसाइकल एक्सएसआर १५५ छोटो समयमै चर्चित बनेको छ ।
थाइल्याण्ड, फिलिफिन्स लगायत अन्तर्राष्ट्रिय बजारमा ५ वर्ष अघि नै लन्च भएको उक्त मोटरसाइकल भारतमा गत साता मात्रै बिक्री सुरू भएको हो ।
भारतमा बिक्री हुन अगावै पनि यस मोटरसाइलले विभिन्न अटो शोहरूमा चर्चा कमाएको थियो । एक्सएसआर १५५ सीसी सेग्मेन्टको रेट्रो डिजाइनमा बनेको मोटरसाइकल हो । एक्सएसआर १५५ लुक्स र फिचरका कारण चर्चामा आएको हो ।
यो मोटरसाइकल नेपाली बजारमा समेत चाँडै आउने सम्भावना छ । यद्यपि, हालसम्म नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले यसबारे केही जानकारी दिएको छैन ।
यामाहा एक्सएसआर १५५ मोटरसाइकललाई चर्चामा ल्याउने मुख्य ६ पक्षबारे हामीले यहाँ चर्चा गरेका छौं ।
१. इन्जिन क्षमता : यामाहा एक्सएसआर १५५ मा यामाहा आर १५ र एमटी १५ मा प्रयोग भएको १५५ सीसीको भीभीए (भेरियबल भल्ब एक्चुएसन) सिस्टम सहितको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एफआई इन्जिन सेटअप छ ।
यो इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.४ हर्स पावर र ७ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लिप एण्ड असिस्ट क्लच समेत छ । भीभीए सिस्टमले मोटरसाइकलको इन्जिन पर्फमेन्समा निकै पावरफुल रूपमा काम गर्नेछ ।

२. उत्कृष्ट माइलेज : एक्सएसआरको फ्युल ट्यांक क्षमता १० लिटरको मात्रै छ । तर, यसको इन्जिन धेरै फ्युल–इफिसियन्सी छ । फुल ट्यांकी इन्धनमा यो मोटरसाइकल करिब ५०० किलोमिटरसम्म चल्न सक्छ।
रोड टेस्ट गर्दा यसले शहरमा ५१.८ प्रतिकिलोमिटर र हाइवेमा ५६.४ प्रतिकिलोमिटरसम्मको माइलेज दिने पाइएको थियो।
३. ग्रफिक्स डिजाइन : यस मोटरसाइकलको ग्राफिक एकदमै क्लासिक र क्याची टाइपको छ । कलरफुल अलोय ह्वील, गोलाकार मोर्डन रेट्रो डिजाइनको हेडलाइट सेटअप, स्लीम टेल सेक्सन र स्लिम फ्रोफाइलले गर्दा टाढैबाट हेर्दा पनि आकर्षित गराउँछ । यसमा दिइएको कलर अप्सन सबैलाई मन पर्ने खाल्को छ ।
४. डबल च्यानल एबीएस र ट्रयाक्सन कन्ट्रोल : १५५ सीसीको क्रुजर रेट्रो मोटरसाइकलमा आएको यो फिचर पहिलो हो । यसमा डबल च्यानल एबीएस र ट्रयाक्सन कन्ट्रोल दुवै स्ट्याण्डर्ड रूपमा दिइएको छ । ट्रयाक्सन कन्ट्रोल र एबीएस भएकोले सुरक्षाको हिसाबले २०० सीसी भन्दा माथिका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्छ ।

५. आधुनिक फिचर : यसमा कनेक्टिभिटी सिस्टम, यामाहा वाइ एप, राउड कलरफुल पूरा डिजिटल कन्सोल, कल एसएमएस अलर्ट, पूरा एलईडी लाइट, डीआरएल, पिस्टन क्यालिपर ब्रेक सिस्टम, ट्युबलेस टायर, फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप जस्ता फिचरहरू छन् ।
६. स्क्रयाम्बलर र क्याफे रेसर किट छुट्टाछुट्टै किन्न पाइने : कम्पनीले स्क्रयाम्बलर र क्याफे रेसर डिजाइन बनाउनका लागि दुईवटा अफिसियल एशेसरिज किट प्याकेज उपलब्ध गराएको छ। जसमा स्क्रयाम्बलरका लागि बार इन्ड मिरर, रबर ट्यांक प्याड, सीट कभर, फ्लाइस्क्रिन, एडजस्टेबल लिभर, नम्बर साइड प्यानल र फरक डिजाइनको नम्बर-प्लेट होल्डर रहेका छन् ।
त्यस्तै, क्याफे रेसरका लागि स्पोर्टी सीट, हेडलाइट काउल, लिभर प्रोटेक्टर, साइड प्यानल, एड्जस्टेबल लिभर जस्ता सामानहरू अलग–अलग वा किटको रूपमा किन्न सकिन्छ।

