यी हुन् तत्काल मूल्य घट्नु पर्ने दुई दर्जन मोटरसाइकल

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत २०० सीसी माथिका र ४०० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क घटायो । साथै, २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा सडक निर्माण दस्तुर समेत घटायो ।

बजेट पश्चात् एकाध कम्पनीले मूल्य समायोजन गरेपनि अझै धेरै कम्पनीले मूल्य घटाउने विषयमा मौनता साँधेका छन् । त्यसमा पनि केही कम्पनीले मूल्य नघटाउने बताएका छन् ।

अहिलेसम्म क्रसफायरले आफ्नो तीन मोडलको मूल्य समायोजन गरेको छ । त्यस्तै, बजाज र केटीएमले आफ्नो केही मोडलमा मूल्य घटाएर सार्वजनिक गरेका छन् । रोयल इनफिल्डले बजेटपछि नै नेपालमा एसेम्बल गरेर मोटरसाइकल ल्याउँदा पुरानोभन्दा निकै घटाएको छ । टारो ब्राण्डले पनि आफ्नो मोटरसाइकलको मूल्य घटाएको छ ।

सरकारले घटाएको करका दर अनुसार अझै थुप्रै मोडलको मूल्य समायोजन हुनु पर्नेछ । तर, यस विषयमा कम्पनीहरुले केही जवाफ दिएका छैनन् । आज हामी त्यहि मूल्य घट्नु पर्ने मोटरसाइकलको विषयमा चर्चा गर्दैछौं ।

बजाजको बिक्रेता ‘एच एण्ड एच बजाज’ले ३७० सीसी क्षमताको डोमिनार ४०० को मूल्य ६० हजार रुपैयाँले घटाएपनि अन्य मोडलको मूल्य घटाएको छैन । बजाजसँग सरकारले अन्तःशुल्क घटाएका अन्य थुप्रै मोडल छन् । जसमा पल्सर २२०, पल्सर एन २५०, डोमिनार २५० र एभेन्जर २२० जस्ता मोडल छन् । यी सबै मोटरसाइकलमा पहिलेको तुलनामा २० प्रतिशत अन्तःशुल्क घटेको छ ।

क्लासिक र आइकोनिक ब्राण्ड जावा र येज्दीको बिक्रेता अग्नी मोटोइनले बिक्री गर्दै आएका मोटरसाइकल पनि अन्तःशुल्क घटेको मोडल हुन् । यी सबै मोटरसाइकलमा ३३४ सीसी क्षमताका इन्जिन छन् । बजेटले यी मोटरसाइकलमा ३० प्रतिशत अन्तःशुल्क कम गरेको छ ।

केटीएम हंशराज हुलास चन्द एण्ड कम्पनीले २५० सीसी सेग्मेन्टको २५० ड्यूक र २५० एड्भेन्चरको मूल्य समायोजन गरेको छ । कम्पनीले ३९० ड्यूक र ३९० एड्भेन्चको मूल्य भने समायोजन गर्न बाँकी रहेको छ ।

टीभीएसको बिक्रेता जगदम्बा मोटर्सले हाल विक्री गर्ने ३१० सीसी मोटरसाइकल आरआर ३१० को मूल्य घटाएको छैन । कम्पनीले हाल बिक्री गर्ने २०० सीसीभन्दा माथि क्षमताको एकमात्र मोटरसाइकल आरआर ३१० हो ।

सुजुकी भिजीले २५० सीसी सेग्मेन्टमा नेकेड र फियर्ड गरी दुई मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले जिक्सर २५० र जिक्सर २५० एसएफको मूल्य समायोजन गरेको छैन ।

होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले बिक्री गर्ने ३५० सीसी सेग्मेन्टका सीबी ३५० ट्वीनको मूल्य पनि समायोजन गरेको छैन ।

यामाहाको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले पनि फेजर २५ को मूल्य परिवर्तन गरेको छैन । यी ब्राण्डका अलावा ३१० सीसी क्षमताको मोटरसाइकल विक्री गर्ने बीएमडब्लू, बेनेली जस्ता ब्राण्डले पनि मूल्य समायोजन गरेका छैनन् ।


Back_to_top