काठमाडौं । टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले छैटौं जेनेरेशन र्याभफोर हाइब्रिड बिक्री सुरू गरेको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यसको आधिकारिक बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ र्याभफोर एसयूभीको मूल्य २ कराेड १३ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । विश्वभर निकै चर्चा कमाइरहेको नयाँ र्याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ ।
सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्याभफोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ । जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १८ पीएसले बढी हो । सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ ।
सन् १९९४ मा पहिलो पटक बजारमा आएको टोयोटा र्याभफोर संसारभर सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयूभी हो । विगत ३२ वर्षमा झण्डै १ करोड ५५ लाख युनिट र्याभफोर बिक्री भइसकेको छ ।
नेपाली सडकमा अहिलेसम्म १ हजार युनिट माथि र्याभफोर एसयूभीको विभिन्न जेनेरेशन बिक्री भइसकेका छन् । नयाँ जेनेरेशन मोडल बजारमा भर्खर लन्च भएकाले भोलिका दिनमा कस्तो व्यापार गर्छ, त्यो हेर्न भने अझै कुर्नु पर्ने हुन्छ ।


