नेपालमा चल्तीका ७ चिनियाँ इलेक्ट्रीक स्कुटर, तपाईंको रोजाइ कुन ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको माग बढ्दो छ । नेपालमा इलेक्ट्रीक स्कुटर भित्रिएको लामो समय भए पनि खासै बजार पाउन सकेको थिएन । तर, मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण पेट्रोलको मूल्य अस्वभाविक बढेपछि इलेक्ट्रीक स्कुटरको माग ह्वात्तै बढेको हो ।

अहिले नेपाली बजारमा स्थापित ब्राण्डका इलेक्ट्रीक स्कुटर पाउन करिब १ महिनासम्म कुर्नुपर्ने अस्था छ । नेपालमा तीन दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर उपलब्ध छन् । तीमध्ये अधिकांश स्थापित हुन सकेको देखिँदैन ।

उपस्थितिका आधारमा चिनियाँ ब्राण्डको संख्या धेरै छ । तर, तीमध्ये करिब आधादर्जन ब्राण्ड मात्र बजारमा चल्तीको रूपमा देखिन्छन् । आकर्षक डिजाइन, रेन्ज, फिचर-लोडेड मोडल र प्रतिस्पर्र्धी मूल्यका कारण चिनियाँ ब्राण्डका केही स्कुटरहरू उपभोक्ताको रोजाइमा परिरहेका छन् ।

नेपालमा अहिले चीनका याडिया, एनआइयू, टेलजी, सेग्वे, लुयान, ग्यारो, सुपर सो लगायत ब्राण्डका विभिन्न मोडलहरू चर्चित छन् । यी मध्ये केही ब्राण्ड भ्यालु फर मनि, केही प्रिमियम र आधुनिक फिचर रकेही परफर्मेन्स केन्द्रित छन् ।

यहाँ हामीले नेपालमा चल्तीमा चिनियाँ इलेक्ट्रीक स्कुटर ब्राण्डका बारेमा चर्चा गरेका छौं ।

याडिया

याडिया दुईपाँग्रे ईभीमा ९ वर्षदेखि विश्वकै पहिलो स्थानमा पर्दै आएको ब्राण्ड हो । नेपालमा पनि यसले राम्रो पकड बनाइरहेको छ । कुजु नेपालले नेपालमा याडियाका भेलक्स, ओविन, ई ८ एस प्रो, एम ६ लगायतका स्कुटर मोडल र केनिस ईभी मोटरसाइकल बिक्री गर्दै आएको छ ।

यी मोडलहरूमा ७२ भोल्ट र सो भन्दा माथिका ग्राफिन ब्याट्री र २.८ किलोवाट देखि ३ किलोवाटसम्मको मोटर जडान गरिएको छ । सबै स्कुटरले एकपटकको फुलचार्जमा १०० किलोमिटर देखि १५० किलोमिटरसम्म रेन्ज दिन्छ ।यीनमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण स्मार्ट र सुरक्षा फिचरहरू छन् । याडियाका स्कुटरहरूको सुरूआती मूल्य २ लाख ३० हजार रुपैयाँदेखि रहेको छ ।

एनआइयू

स्मार्ट इलेक्ट्रीक स्कुटर ब्राण्डका रूपमा चिनिने एनआइयूको एफक्यूआइ, आरक्यूआइ, एनक्यूआइ, एफएक्स र केक्यूआइ सिरिज नेपालमा उपलब्ध छन् ।

एनआइयूका यी सिरिज हरूमा मोडल अनुसार डुअल ब्याट्री सेटअप पाइन्छ । स्कुटरहरूमा ९० देखि १४० किलोमिटरसम्म रेन्ज दिने ४८ भोल्ट, ६० भोल्टको ब्याट्री र १५०० वाट देखि ३००० वाटसम्मको मोटर जडान गरिएको छ ।

एनआइयू नेपालले मोडल अनुसार मूल्य २ लाख ७० हजारदेखि ५ लाख रुपैयाँसम्म तोकेको छ ।

टेलजी

नेपालमा टेलजी अहिले भ्यालु ओरियन्टेड सेग्मेन्टमा तीव्र गतिमा बढ्दो ब्राण्ड हो । हाल नेपालमा टेलजीका एस टू, टाइगर, ट्यांक जेडएस र ट्यांक केएस जस्ता मोडल उपलब्ध छन् ।

टेलजी नेपालले यी स्कुटरहरूको सुरूआती मूल्य २ लाख ६२ हजार रुपैयाँदेखि छ । ३ किलोवाटसम्मको मोटर र ३.५ किलोवाट आवरसम्मको ब्याट्रीप्याक पाइने टेलजीका स्कुटरले १०० देखि १२० किलोमिटरसम्म रेन्ज दिन्छन् ।

सेग्वे

सेग्वे पनि नेपालमा प्रिमियम सेग्मेन्टकै ब्राण्ड हो । सेग्वेकोे हाल नेपालमा ई १०० मोडल उपलब्ध छ । कम्पनीले यसको मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकेको छ । यसमा १.८ किलोवाट मोटर र १.४४ किलोवाट आवरको ब्याट्री प्याक छ । यो स्कुटरले करिब ६० किलोमिटरसम्म रेन्ज दिन्छ ।

लुयान

लुयान ब्राण्ड पनि नेपालमा चल्तीकै ब्राण्ड हो । लुयानका एस ३० एम ८ र एफ ५ जस्ता मोडल नेपाली बजारमा छन् । यी स्कुटरहरूमा ३ किलोवाटसम्मको मोटर र ११० देखि १३० किलोमिटरसम्म रेन्ज दिने ब्याट्री पाइन्छ । लुयानका स्कुटर करिब ३ लाख रुपैयाँ आसपास मूल्यमा किन्न पाइन्छ

सुपर सोको

प्रिमियम चिनियाँ ईभी स्कुटर तथा ई-मोटरसाइकल सेग्मेन्टमा सुपर सोको परिचित नाम हो । सुपर सोकोको स्कुटरभन्दा मोटरसाइकल नेपालमा बढी चर्चित छ ।

मोटरसाइकलका साथै सुपर सोको नेपालले सीयूएक्स नामक स्कुटर पनि उपलब्ध गराएको छ । जसको सुरूआती मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँबाट छ । मोटरसाइकलको भने मूल्य ५ लाख रुपैयाँसम्म पर्छ । सुपर सोकोको सबै मोडलहरूले ८० किलोमिटर भन्दा माथि रेन्ज दिनेछ ।

ग्यारो

पछिल्लो समय नेपालमा धेरै चर्चामा आएको चिनियाँ ब्राण्डमध्ये ग्यारो पनि एक हो । डिजाइन, फिचर, रेन्ज र प्रतिस्पर्र्धी मूल्यका कारण यो ब्राण्ड विस्तार भइरहेको छ । ग्यारोको डीटी सिरिज नेपालमा चर्चित छ । यसको सुरूआती मूल्य ३ लाख ८५ हजार रुपैयाँबाट छ ।

ग्यारो स्कुटरले फुलचार्जमा ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले बताएको छ । स्कुटरमा ८.६४० किलोवाट आवरको ब्याट्री र २ किलोवाटको मोटर पाउन सकिन्छ । यसका अलावा अन्य मोडलहरू पनि उपलब्ध छन् ।

निष्कर्ष

माथि उल्लेख सबै ब्राण्डका मोडलहरूमा सुरक्षित ब्याट्री सिस्टम र आधुनिक मोटर प्रविधि पाउन सकिन्छ । साथै, कनेक्ट सिस्टम, राइडरलाई आवश्यक डिटेल्स देखिने डिजिटल डिस्प्ले, कम्फर्टेवल सस्पेन्सन र सिट, अलोय ह्वील, डिस्क ब्रेक, एबीएस, प्रिमियम स्मार्ट टेक्नोलोजी लगायतका एड्भान्स फिचरहरू पाइन्छ । यी सम्पूर्ण मोडलहरू दैनिक कम्युटका लागि आकर्षक विकल्प हुने देखिन्छन् । रेन्ज, फिचर र मूल्यको आधारमा उपभोक्ताले आवश्यकता अनुसार मोडल छनोट गर्न सक्ने छन् ।

 


Back_to_top