जेठ महिनामा नेपाल आउँदै २ नयाँ एसयूभी

काठमाडौं । जेठ महिनामा २ नयाँ एसयूभी नेपाल आउने भएका छन् । दुई ब्राण्डले ल्याउने दुई वटै एसयूभी इलेक्ट्रीक हुन् ।

जेठ महिनामा आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजेट पनि आउने भएको कारण कम्पनीहरूले ल्याउने नयाँ एसयूभी बजेट अगाडि नै नेपाल प्रवेश गरिसक्ने छन् । अहिले एमजी र ओमोडाले नयाँ मोडल ल्याउन लागेका हुन् ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याउन लागेको एस सिक्स मोडल नेपाल प्रवेश गरिसकेको छ । कम्पनीले चोभार भन्सारबाट एस सिक्सको भन्सार ‘क्लियर’ गर्दैछ ।

त्यसैगरी, ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ई फाइभ एसयूभीको फेसलिफ्ट मोडल बजारमा ल्याउने छ । यसअघि सन् २०२४ मा नेपाल प्रवेश गरेको ओमोडा ई फाइभ सफल मोडलमा पर्छ ।

यी दुई एसयूभी मध्ये एमजी एस सिक्स पूर्णतः नेपालको लागि नयाँ मोडल हुनेछ । ४.७ मिटर लामो एस सिक्स उत्कृष्ट एसयूभी हुन सक्ने देखिन्छ । पारामाउन्ट मोटर्सले यसको मूल्य निर्धारण गरिसकेको छैन । त्यसैले यसको प्रतिस्पर्धाको बारेमा धेरै कुरा भन्न सकिने अवस्था छैन ।

कम्पनीका अनुसार ७७ किलोवाट आवरको एलएफपी ब्याट्रीको साथ बजारमा आउने एस सिक्सको डब्लूएलटीपी साइकल अनुसार ५३० किलोमिटर रेन्ज रहनेछ । यसमा १८० किलोवाटको पावरफुल मोटर पाउन सकिन्छ ।

एमजी एस फाइभको प्रतिस्पर्धा दीपल एस-०७, लिपमोटर सी-१० र बीवाइडी सिलयान सेभेनजस्ता मोडलसँग हुनेछन् ।

ओमोडा ई फाइभ कुपे डिजाइन एसयूभी हो । निकै आकर्षक डिजाइन र राम्रो पर्फमेन्सको कारण यसले बजारमा राम्रै प्रभाव छाड्न सफल भएको थियो । फेसलिफ्ट भएर आउन लागेको इ फाइभ ५०.६ किलोवाट आवरको ब्याट्रीमा पनि उपलब्ध हुनेछ ।

यसअघि ६१ किलोवाट आवरको ब्याट्रीमा आएको ई फाइभ मूल्य पनि केही कम हुने अनुमान गर्न सकिन्छ । कम्पनीका अनुसार साइज पनि पहिलेको भन्दा लामो भएर इ फाइभ आउने छ ।


Back_to_top