काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएका छन् ।
दुवै निकायले शुक्रबार संयुक्त सूचना जारी गर्दै ७ दिन भित्र अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् ।
गत असोज २ गते महानगरपालिका र उपत्यका विकास प्राधिकरणको संयुक्त बैठकले गरेको निर्णय अतिक्रमण भएको क्षेत्र खाली गर्न निर्देशन दिइएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र तथा सीमा जोडिएका जिल्लाका सार्वजनिक स्थानमा भएका मापदण्ड विपरितका र अतिक्रमित संरचना ७ दिन भित्र नहटाएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
महानगरको नेतृत्वमा बालेन शाह आएसँग अतिक्रमित संरचना हटाउने काम तीव्र पारिएको छ । महानगरले दर्जनौं ठाउँका अतिक्रमित संरचना हटाइसकेको छ । यद्यपि, बागमती नदी किनार थापाथली लगायत स्थानका सुकुम्बासी बस्ती, विभिन्न ठाउँका ठूला संरचनाहरू भने अझैसम्म हटाउन सकेको छैन ।

