काठमाडौं । बीवाइडीले एकपछि अर्को नयाँ मोडल बजारमा उतार्ने क्रममा एटो-टु एसयूभी नेपाल ल्याएको छ । चीनमा सफलतासँगै पूर्वि एशियाली देशमा बिक्री सुरू भएसँगै एटो-टु नेपालमा पनि बिक्री सुरू भएको हो ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पछिल्लो एक महिना भित्र तीन नयाँ मोडल बजारमा ल्याएको हो । कम्पनीले साउन ८ गतेबाट सिलायन सेभेन एसयूभी बिक्री थालेको थियो ।
साउन २१ गतेबाट भएको पहिलो नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बीवाइडीको चर्चित ह्याचब्याक कार सिगल (नेपालमा एटो-वान नामबाट बिक्री सुरू भएको)को बुकिङ खुलाएको थियो ।
भदौ ३ गतेबाट सुरू भएको नाडा अटो शो २०२५ मा कम्पनीले एटो-टु बिक्री थालेको हो । कम्पनीले एक महिनाभन्दा छोटो अवधिमा तीन नयाँ मोडल बजारमा ल्याएर आफ्नो मोडल लाइनअपलाई बलियो बनाएको हो ।

साइमेक्स इंकले २८ लाख ९५ हजार रुपैयाँदेखि ७४ लाख ९९ हजार रुपैयाँसम्मका नयाँ मोडल बजारमा ल्याएको हो । यी तीन मोडलसँगै बीवाइडीले नेपालमा बिक्री गर्ने मोडल संख्या ७ पुगेको छ ।
कम्पनीसँग अब बीवाइडी एटो-थ्री, डल्फिन, सिल, एम-सिक्स, सिलायन सेभेन, एटो-वान र एटो-टु मोडल बिक्रीको लागि उपलब्ध भएको छ ।
यस्तो छ सबै मोडलको मूल्य
बीवाइडीको एटो-वान सबैभन्दा सस्तो मोडल हो । कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा देखाएको एटो-वान डाइनामिकको मूल्य २८ लाख ९५ हजार र प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको दोस्रो कम मूल्यको मोडल डल्फिन हो । यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँ छ ।
हिजो सार्वजनिक भएको एटो-टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले एटो-टु पनि एउटा मात्रै भेरियन्टमा ल्याएको हो ।

बीवाइडी एटो-थ्री पनि दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले यसको एड्भान्स भेरियन्टको मूल्य ५६ लाख ९० हजार र सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ ।
बीवाइडीले बिक्री गर्ने एम-सिक्स एमपीभीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ छ । एम-सिक्स पनि एउटा मात्रै भेरियन्टमा किन्न पाइन्छ ।

साइमेक्स इंकले बिक्री गर्ने सबैभन्दा महँगो मोडल सिल स्पोर्टी सेडान हो । यसको डाइनामिक भेरियन्टको मूल्य १ करोड १० लाख, प्रिमियम भेरियन्टको १ करोड ४५ लाख ५० हजार र टप पर्फमेन्स मोडलको मूल्य १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

