सिद्धबाबा सुरुङको काम तीव्र गतिमा, कति पूरा भयो ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । २०८१ माघ ११ गते ब्रेक थ्रु भएको उक्त सुरुङमार्गको अहिले धमाधम फिनसिङको काम भइरहेको हो ।

निर्माणाधीन सुरुङमार्गको समग्र भौतिक प्रगति ५९.७३ प्रतिशत पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । उनका अनुसार आयोजनाको वित्तीय प्रगति ५१.१ प्रतिशत (एड्भान्ससहित) पुगेको छ ।

मुख्य सुरुङको १०८९ मिटर भुइँ ढलान गर्ने काम (इन्भर्ट) सकिएको छ । त्यस्तै, सुरुङको ९९४ मिटरमा दायाँबायाँ लेपन (लाइनिङ) गर्ने काम सकिएको उनले जानकारी दिए । अब लाइनिङको काम १३२ मिटर मात्र बाँकी छ ।

लाइनिङको काम सकेपछि लाइटिङ, भेन्टिलेसन, सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख अधिकारीले बताए।

त्यस्तै, तीन वटै बाइपास सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । बाइपास सुरुङको लम्बाइ १, २ र ३ को क्रमशः १५१, १६१ र १३० मिटर छ । जसमा बाइपास सुरुङ १ मा इन्भर्ट गर्ने काम सकिएको छ भने १२९.७ मिटिर लाइनिङ गरिसकिएको उनले बताए ।

उनका अनुसार बाइपास सुरुङ २ मा इन्भर्ट १५७.८ मिटर सकिएको छ भने ८.३ मिटर लाइनिङको काम सकिएको छ । बाइपास सुरुङ ३ मा इन्भर्ट १२५ मिटर र लाइनिङ १०४.२ मिटर सम्पन्न भएको उनले बताए ।

त्यस्तै, स्लोप प्रोटेक्सन अन्तर्गत दक्षिण पोर्टलमा २३०० मिटर मध्ये १४९५ मिटर र उत्तरतर्फ ११०० मिटर मध्ये ४९५ मिटर काम सम्पन्न भएको छ । एमआर १ पर्वतपट्टि ४८१ र एमआर २ पर्वतपट्टि १ हजार ४१४ वर्गमिटर कार्य सकिएको आयोजनाले जनाएको छ ।

हालसम्म ९ कल्भर्ट निर्माण गरिएको छ । त्यसमा मुख्य सडक १ अन्तर्गत ५ वटा र मुख्य सडक २ अन्तर्गत चारवटा छन् ।

आयोजना प्रमुख अधिकारीका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म रहे पनि अबको १ वर्ष भित्रै सबै काम सक्ने लक्ष्य रहेका उनको भनाइ छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग १११६ मिटर लामो छ । यसको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ ।

२०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण ५ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ। सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ लगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ ।


Back_to_top