गाडी किन्न सस्तोमा ऋण दिन बैंक बीच हानाथाप, कुनले कतिमा दिन्छन् ?

काठमाडौं । गाडी किन्नेलाई ऋण दिन वाणिज्य बैंकहरू बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । हिजो (भदौ ३ गते) देखि सुरू भएको ‘नाडा अटो शो २०२५’ लाई लक्षित गर्दै सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याएका हुन् ।

एकातिर, हाल बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । आर्थिक शिथिलताका कारण बैंकहरूले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । पैसा बैंकमै थुप्रिएर बसेको छ । ब्याजदर पनि निकै सस्तिएको छ ।

अर्कोतर्फ, नाडा अटो शोमा नयाँ गाडी बुकिङ र खरिद गर्ने ग्राहकको भीड लागेको छ । दशैं, तिहार जस्ता चाडपर्व नजिएकाले पनि सवारी साधनको खरिद बिक्री बढ्छ । तिनै नयाँ सवारी किन्ने ग्राहकलाई आफूतिर तानी व्यवसाय विस्तार गर्न बैंकहरूले सस्तो ब्याजदरको कर्जा योजना ल्याएका हुन् ।

हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये नाडा अटो शोमा ८ वटाले सहभागिता जनाएका छन् । जसमा बैंकहरूले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्मको अटो लोन योजना ल्याएका छन् ।

बैंकहरूले स्थिर र परिवर्तनशील दुवै ब्याजदरमा कर्जा योजना ल्याएका छन् । त्यस्तै, केही बैंकले विद्युतीय सवारीलाई केन्द्रमा राख्दै आकर्षक स्कीम पनि ल्याएका छन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले नयाँ सवारी खरिदका लागि ६० प्रतिशतसम्म कर्जा दिन पाउँछन् ।

कुन बैंकले कतिमा दिन्छन् ऋण ?

नाडा अटो शोमा गाडी किन्न कृषि विकास बैंकले सबैभन्दा सस्तोमा ऋण दिने भएको छ । कृषिले न्यूनतम ६.२३ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो । कृषिले बेसरेटमा जम्मा ०.३६ प्रतिशत मात्रै प्रिमियम जोडेर अटो कर्जा स्कीम ल्याएको हो । हाल बैंकको बेसरेट बेसरेट ५.८७ प्रतिशत छ । बैंकले अटो कर्जामा ०.७५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।

त्यस्तै, नबिल बैंकले न्यूनतम ६.७४ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । बैंकले यस्तो कर्जा ७ वर्षसम्मका लागि दिने भएको हो । यसमा ०.५ प्रतिशत सेवा शुल्क लिने बैंकले जनाएको छ । वार्षिक ८.२५ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षका लागि कर्जा दिने भएको छ । यसमा सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लिनेछ ।

ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । यस बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ ।

हिमालयन बैंकले बेसरेटमा ०.८७ प्रतिशत प्रिमियम तोकेर अटो कर्जा दिएको छ । सो अनुसार ७.५७ प्रतिशतमा ऋण दिन्छ । कर्जाको अवधि ८ वर्ष रहेका छ ।

एनएमबी बैंकले विद्युतीय सवारी किन्न ७.१३ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले ५ वर्षका लागि भने ८.८९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

सानिमा बैंकले विद्युतीय सवारी साधन किन्न न्यूनतम ७.४९ प्रतिशत स्थिर ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले अन्य सवारी किन्न ५ वर्षका लागि ७.९९ प्रतिशत र ७ वर्षका लागि ८.१५ प्रतिशत ब्याजदर कर्जा दिनेछ । बैंकले ३ दिनमै कर्जा स्कीकृत गर्ने र प्रोसिङ चार्ज ०.५ प्रतिशत मात्र लिने जनाएको छ ।

नेपाल एसबीआई बैंकले पनि ६.९९ प्रतिशत ब्याजदरको भेहिकल लोन स्कीम ल्याएको छ । बैंकले न्यूनतम ३ वर्षदेखि ७ वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । प्रोसेसिङ चार्ज न्यूनतम मात्र लिने बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकले ७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा योजना ल्याएको छ ।


Back_to_top