यी ७ कुरा चेक गरेर मात्रै सेकेन्ड ह्याण्ड ईभी किन्दा राम्रो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा ब्याट्री इलेक्ट्रीक भेहिकल धेरै आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा विगत दुई दशक अगाडिदेखि नै ईभी चलिरहेका छन् । सुरुका दिनमा ईभीको संख्या नै नगन्य हुने र हुनेले पनि सेकेन्ड ह्याण्ड बजारमा विक्री नगर्ने हुनाले निबेचको कुरै हुँदैन थियो ।

अहिले विक्री बढेसँगै सेकेन्ड ह्याण्ड बजारमा थुप्रै ईभी किन्न पाइन थालेको छ । ग्यासोलीन गाडीभन्दा फरक प्रविधिमा बनेको हुनाले ईभीको सेकेन्ड ह्याण्ड बजारको मूल्यांकन पनि फरक तरिकाले हुन्छ । ईभीको मूख्य कम्पोनेन्ट भनेकै ब्याट्री र मोटर हुनाले त्यसको अवस्थाले गाडीको मूल्य निर्धारण हुन्छ ।

मुख्यतया ब्याट्रीको लाइफ र यसको कन्डिसनले ईभीको मूल्य निर्धारण हुन्छ । यस्तोमा हामीले सेकेन्ड ह्याण्ड बजारमा ईभी खरिद गर्दा ध्यान दिनु पर्ने केही कुरा यहाँ प्रस्तुत गरेका छौं ।

ब्याट्रीको प्रयोग र बाँकी लाइफ

मोवाइल फोन, ल्यापटप, टीभीको रिमोटमा जस्तै ईभीमा प्रयोग भएको ब्याट्री पनि डिग्रेड हुँदै जान्छ । विशेष वाहिरी टेम्प्रेचरको थपघट, ब्याट्री प्रयोग अवधि, एक्सीलीरेसन प्रोशेस तथा कति पटक रिचार्ज भन्ने कुराले ब्याट्रीको अवस्था निक्यौल गर्छ ।

सेकेन्ड ह्याण्ड ईभी खरिद गर्नेले सबैभन्दा पहिलो किन्न चाहेको गाडी आयातकर्ता कम्पनीको सर्भिस सेन्टरमा लगेर यसको ब्याट्रीको हेल्थ चेक गर्नु राम्रो हुन्छ । यदि, सर्भिस सेन्टर जान सकिएन भने गाडीलाई १०० प्रतिशत चार्ज गरी स्वयंले चलाएर हेर्ने । त्यसले ब्याट्रीको अवस्था र रेन्ज पत्ता लगाउन सकिन्छ ।

साथै, प्रायः ईभीहरुको ड्यासबोर्डमै पनि ब्याट्री हेल्थ डिस्प्ले गर्ने हुन्छ । प्रयोग भईसकेका ईभीमा कम्पनीको दावी अनुसार रेन्ज भने पाउन सकिदैन ।

ब्याट्री रिप्लेस हो वा होइन

हुनत नेपालमा विक्री हुने अधिकांस ईभीको व्याट्री लाइफ ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी भएका छन् । एकदमै धेरै प्रयोग नभइ ब्याट्री फेरिनै हाल्नु पर्ने हुँदैन । यदि, ब्याट्री फेरिएको रहेछ भने आधिकारीक डिलरमा फेरिएको हो वा होइन एकिन गर्नुपर्छ ।

ब्याट्रीको बाँकी वारेन्टी एकिन गर्ने

ईभीको मूख्य खर्चनै ब्याट्री भएकाले दोस्रो बजारमा ईभी खरिद गर्दा ब्याट्रीको वारेन्टी एकदमै राम्रोसँग हेर्नु पर्छ । प्रायः ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमीटरको वारेन्टी हुने भएकाले गाडी कति किलोमीटर गुड्यो र कति वर्षको भयो राम्रोसँग ध्यान दिनु पर्छ ।

यसको लागि उक्त गाडीको भीन नं (भेकिकल आइडेन्टीफिकेसन नम्बर) पत्ता लगाएर डिलरलाई सम्पर्क गर्दा सबै सत्य तथ्य थाहा हुन्छ ।

सर्भिसिङ र मेन्टीनेन्सको अवस्था

ईभीको सर्भिसिङ ग्सोलीनको जस्तो ठ्याक्कै तोकिएको समयमा गर्नु नपर्ने भएपनि यसलाई पनि कम्पनीको निर्देशानुसार मेन्टीनेन्स गर्नु पर्छ ।

नयाँ सिस्टम र प्रविधि भएकाले ईभीको मेन्टीनेन्स आयातकर्ता कम्पनीको आफ्नै वा अर्थोराइज सर्भिस सेन्टरमा मात्र हुन्छ । यसको सर्भिसिङ र मेन्टीनेन्सको हिस्ट्रीका लागि पनि कम्पनीलाई नै सम्पर्क राख्नु पर्ने हुन्छ ।

चार्जिङ सेन्टरको उपलब्धता

ईभी वेच्ने कम्पनीहरुले धेरै स्थानमा चार्जिङ सेन्टर समेत स्थापना गरेका छन् । नेपालमा एक कम्पनीले स्थापना गरेको चार्जिङ सेन्टरमा अर्को कम्पनीको गाडी चार्ज गर्न अझै सहज भएको छैन । यस्तो अवस्थामा आफूले खरिद गर्न चाहेको ईभीको चार्जिङ सेन्टर कहाँ कहाँ छ ध्यान दिनु पर्छ ।

विशेषत हाइवेमा यात्रा गरिरहनु पर्ने चालकले पहिला नै आफ्नो रेगुलर रुटमा फास्ट चार्जर कहाँ कहाँ छ याद गर्नु पर्छ ।

अनवोर्ड चार्जर र यसको क्षमता

नेपाल सरकार र आयातकर्ता कम्पनीले धेरै स्थानमा फास्ट चार्जर स्थापना गरेता पनि ईभीको रिचार्ज आफ्नै घरमै हुने गर्छ । गाडीमा ३ किलोवाट वा ७ किलोवाटको चार्जर आउँछ ।

यदि तपाइले किन्न खोज्नु भएको ईभीमा ७ किलोवाटको चार्जर छ भने तपाईको घरको बिजुली क्षमता कम्तीमा १५ एम्पीयरको हुनु पर्छ । १५ एम्पीयरभन्दा कमको मिटर क्षमता वा अर्थिङ गरेको छैन भने ईभीको चार्जरले राम्रो काम गर्दैन । त्यसकारण ईभी खरिद गर्दा चार्जर, वायर र आफ्नो विद्युत सप्लाईको क्षमता पनि परिक्षण गर्न जरुरी हुन्छ ।

अन्य कम्पोनेन्ट र फिचरको परिक्षण

ईभीमा मुख्यतया ब्याट्री, चार्जर तथा मोटर क्षमताको परिक्षण गरिसकेपछि अन्य पार्टसहरुको पनि परिक्षण गर्नु पर्छ । ईभीको टायर पनि विशेष डिजाइनको हुने भएकोले टायरको अवस्था, इन्फोटेन्मेन्ट सिस्टम, इन्टेरियर पाट्सहरु तथा लाइटहरु चेक गर्नु पर्छ ।

अझ नेपालको जस्तो रफ बाटोमा चलाउने ईभीको ग्राउण्ड क्लियरेन्स पनि उत्कुष्ट हुन जरुरी हुन्छ । प्रायः ईभीको ब्याट्री प्याक तल हुने भएकोले ग्राउण्ड क्लियरेन्सको राम्रो हेक्का राख्नु पर्छ ।


Back_to_top