काठमाडौं । सोमबार (हिजो) नेपाल राष्ट्र बैंकले कमर्शियल बैंकका सीईओहरूलाई बोलाएर केही वस्तुको आयात रोक्न मौखिक निर्देशन दिएको भन्दै समाचारहरू बाहिर आए । यसले राष्ट्र बैंकले भोलिका दिनमा आउन सक्ने समस्याको विषयमा छलफल मात्रै गरेको भए पनि निर्णय गरेको संदेश प्रवाह भयो ।
राष्ट्र बैंकले विशेषत सवारीसाधन, सुन, चाँदी, सुपारी लगायतका वस्तु आयात रोक्नु पर्ने अवस्था आउन लागेको भन्दै सीईओहरूसँग छलफल गरेको जनाएको छ ।
‘हामीले अहिलेको अवस्था र भोलि आउन सक्ने चुनौतीको विषयमा छलफल गरेका हौं । तर, बाहिर आए जस्तो कुनैपनि वस्तुको आयात रोकिएको अवस्था होइन । त्यसमा पनि गाडीको आयात कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । निर्णय होइन’, राष्ट्र बैंकका सहायक प्रबक्ता नारायणप्रसाद पोखरेलले मेरो अटोसँग भने ।
अर्थतन्त्रको विषयमा राष्ट्र बैंक गम्भीर नदेखिएको व्यवसायीहरूको भनाइ छ । अहिले नै देशको अर्थतन्त्र पूर्णरूपमा डुबेको जसरी सम्पूर्ण गाडी आयात रोक्ने भन्ने विषय बाहिर आएको भन्दै नाडाका अध्यक्ष ध्रुव थापा भन्छन्, ‘एकतिर ७ महिनाको आयात धान्न सक्ने अवस्था छ भन्ने, अर्कोतर्फ भएका सबै व्यवसाय बन्द गराउने नियत राष्ट्र बैंकको देखियो । आजै नाडाको बैठक बसेर विशेष निर्णय गर्छौं ।’
अर्थतन्त्रमा आयातको चाप बढेको विषयलाई कसैले नकार्न सक्दैन । तर, अर्थतन्त्रको कोर समस्यामा प्रबेश नगरी अर्थतन्त्रको लागि आवश्यक वस्तुको आयात रोक्ने, पेट्रोलियम पदार्थको आयात घटाउने जस्ता विषयमा केन्द्रीय बैंक लाग्दा अन्तर्राष्ट्रिय समुदायमा नै नकारात्मक संदेश जाने व्यवसायीहरूको भनाइ छ ।
राष्ट्र बैंकसँग भएको छलफल सुरूआती चरणको भएको एक बैंकका सीईओले जानकारी दिए । गाडी आयातमा कडाइ गर्ने विषयमा छलफल भएको भन्दै उनले भने, ‘सर्कुलर नै जारी गरेर आयात रोक्ने विषयमा कुरा पुगेको होइन । समस्या आउन सक्छ, डलर खर्च धेरै भएको छ । अहिलेदेखि नै सबैको सहयोग भए समस्या नै आउँदैन भन्ने विषयमा छलफल भएको हो ।’
राष्ट्र बैंकले २७ जना सीईओसँग गरेको छलफललाई निर्णयको रूपमा बाहिर मिडियामा आउँदा धेरै क्रियाप्रतिक्रिया आएको राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलको भनाइ छ ।

