काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा लुटेर एक व्यक्तिले मोटरसाइकल किनेको पाइएको छ ।
प्रहरीले बैंक लुटपाटको आरोपमा पक्राउ गरेको दोलखाका २७ वर्षीय दीपक श्रेष्ठले लुटेको पैसाबाट रोयल इनिफिल्ड (बुलेट) मोटरसाइकल खरिद गरेको अनुसन्धानमा खुलेको हो ।
प्रहरीका अनुसार अभियुक्तले बयानको क्रममा बैंकबाट लुटेको पैसामा थप रकम हालेर बुलेट मोटरसाइकल किनेको स्वीकारेका छन् ।
बैंकबाट आफूले साढे २ लाख रुपैयाँ मात्रै लगेको उनले दाबी गरेका छन् । उक्त रकममा १ लाख ७२ हजार रुपैयाँ थपी ४ लाख २२ हजारमा रातो रङको बुलेट मोटरसाइकल किनेको श्रेष्ठले बयानको क्रममा बताएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले बैंकबाट अढाई लाख नगदसहित ३ थान सुनका बाला, १ थान लकेट, १ थान औँठी पनि लगेको बताएका छन् ।
प्रहरीले श्रेष्ठसहित अर्का एक नाबालकलाई पनि बैंक लुटपाटमा प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरेको छ ।

