काठमाडौं । अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूले आन्तरिक हवाई भाडादरमा ८० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आइतबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा कम्पनीका प्रतिनिधिहरु बीच हवाई भाडामा छुट दिने सहमति भएको हो ।
प्राधिकरणका अनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन् ।
त्यस्तै, ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ।
उक्त छुट सुविधा आइतबारदेखि नै लागू गर्न प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ ।

