काठमाडौं । राष्ट्रिय गौरवको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सवा ३ अर्ब रुपैयाँ क्षतिपूर्ति माग दाबी गरेको छ ।
कम्पनीले विभिन्न कारण देखाइ क्षतिपूर्ति दाबी गरेको हो । कम्पनीले सुरुङ खन्ने क्रममा सपोर्ट प्याट्रनकाे डिजाइन परिवर्तन गरेको, पटक-पटक स्थानीयको अवरोध, विदेशी मुद्राको मूल्य वृद्धि, कोरोना लगायत कारण देखाउँदै ३ अर्ब ३० करोड क्षतिपूर्ति मागेको हो ।
साथै, ठेकेदारले अवरोधका कारण निरन्तर काम गर्न नपाएको भन्दै समय समेत थप्न माग गरेको छ । नागढुंगा सुरुङमार्ग आयोजना निर्देशक सौजन्य नेपालले ठेकेदारले विभिन्न कारण देखाई ३ अर्ब ३० रुपैयाँ क्षतिपूर्ति दाबी गरेको जानकारी दिए ।
‘ठेकेदारले स्थानीयको अवरोध, सुरुङको सपोर्ट प्याट्रनको डिजाइन परिवर्तन, कोरोना, विदेशी मुद्राको मूल्य वृद्धि लगायत कारण देखाउँदै ३ अर्ब ३० करोड क्षतिपूर्ति दाबी गरेको छ,’ उनले मेरोअटोसँग भने, ‘यद्यपि, उक्त दाबी सडक बोर्ड र परामर्शदाताले पूर्ण रूपमा स्वीकार नगरेकाले डिस्प्युट बोर्डमा पुगेको छ ।’
उनका अनुसार कम्पनीले सबैभन्दा धेरै क्षतिपूर्ति सुरुङमार्गको सपोर्ट प्याट्रनको डिजाइन परिवर्तन गर्नुपरे बापत मागेको छ । सुरुङ खन्दै जाँदा माटो तथा रकको प्रकृति पहिला अनुमान गरेभन्दा कमशल भेटिएको थियो । जसकारण सुरुङमार्गको सपोर्ट प्याट्रनको डिजाइन परिवर्तन गर्दा लागत बढेको भन्दै कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ दाबी गरेको उनले बताए ।

त्यस्तै, कम्पनीले पटक पटक स्थानीयले अवरोध गर्दा निरन्तर काम गर्न नपाएको भन्दै २० करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ । स्थानीयले खानेपानी, मुआब्जा लगायत माग राख्दै महिनौंसम्म आयोजनाको काम रोकेका थिए । सो बेला आफ्ना कामदार त्यसै बस्नुपरेको ठेकेदारको भनाइ छ ।
त्यसैगरी, कोरोनाका कारण काम रोक्नुपरेको र थप सुरक्षा शतर्कता अपनाउनुपरेको भन्दै थप २० करोड रुपैयाँ, विदेशी मुद्राको भाउ बढेको लगायत अन्य प्राविधिक कारण देखाउँदै १० करोड रुपैयाँ दाबी गरेको छ ।
ठेक्का सम्झौता अनुसार नेपाली रुपैयाँ, अमेरिकी डलर र जापानी येनमा भुक्तानी गर्ने उल्लेख गरिएको छ । ‘फरक फरक ३ मुद्रामा भुक्तानी गर्नुपर्ने सम्झौता छ । विभिन्न आइटमका सामानमा फरक फरक मुद्रा तोकिएको छ । ठेक्का सम्झौता गर्ने बेलाकोभन्दा अहिले डलरको भाउ निकै बढेको भन्दै क्षतिपूर्ति दाबी गरेको छ,’ उनले भने ।
बोर्डले टुंग्याउने, चित्त नबुझे आर्बिटेसनमा जानसक्ने
हाज्मा आन्दोले दाबी गरेको क्षतिपूर्ति सडक विभाग र परामर्शदाता कम्पनीले पूर्ण रूपमा स्वीकार गरेका छैनन् । त्यसकारण कति क्षतिपूर्ति पाउँछ भन्ने टुंगो लागेको छैन ।
ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायी र सरकार बीच कुनै विषयमा मतभेद उत्पन्न भएमा स्वतन्त्र डिस्प्युट बोर्डले हेर्ने उल्लेख छ । सोही अनुसार अहिले उक्त क्षतिपूर्ति दाबी बारे बोर्डले अध्ययन गरिरहेकाे निर्देशक नेपालले बताए ।
‘ठेकेदारले दाबी गरेको रकम विभाग र परामर्शदाताले पूर्ण रूपमा स्वीकार नगरेपछि अहिले डिस्प्युट बोर्डमा पुगेको छ । बोर्डले अहिले उक्त दाबी बारे अध्ययन गरिरहेको छ,’ उनले भने, ‘बोर्डले गहन अध्ययनपछि क्षतिपूर्तिको बारेमा निर्णय गर्नेछ ।’

डिस्प्युट बोर्डको निर्णय दुवै पक्षले मान्नुपर्नेछ । त्यसमा चित्त नबुझे दुवै पक्ष आर्बिटेसनमा जानसक्ने उनको भनाइ छ । डिस्प्युट बोर्ड र आर्बिटेसनमा जाँदा लाग्ने खर्च दुवै पक्षले व्यहोर्नुपर्नेछ ।
९६ प्रतिशत सकियो काम
हाल सुरुङमार्गको ९६ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य सुरुङ, फ्लाइओभर लगायत भौतिक संचरना निर्माण, मुख्य सुरुङमार्ग भित्र भेन्टिलेसन, फायर फाइटिङ, टेलिफोन, सेफ्टी, सीसीटीभ, बिजुली बत्ती लगायत उपकरण समेत जडान भइसकेको छ ।
अब सुरुङमार्गको पश्चिम पोर्टलतर्फ पहिरो नियन्त्र, टोल बुथ निर्माण लगायत केही सानातिना काम मात्र बाँकी रहेको निर्देशक नेपालले बताए । आयोजनाको दोस्रो पटक थपिएको म्याद २०८२ कात्तिक ८ गते सकिँदै छ ।
यो सुरुङमार्ग आगामी पुस भित्र संचालनमा ल्याउने सरकारको योजना छ । निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले सुरुङमार्ग संचालनका लागि ग्लोबल टेण्डर आह्वान गर्ने तयारी छ ।
नेपालसँग सुरुङमार्ग संचालनको अनुभव नभएकाले अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनी ल्याइने छ । यसका लागि खरिद निर्देशिका सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्वीकृति भइसकेको छ ।

साथै, बिड डकुमेन्ट पनि स्वीकृतिका लागि कार्यालयमा पेस भइसकेको छ । त्यो स्वीकृति भएपछि सर्भिस प्रोभाइडर छनोटका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गर्ने तयारी छ ।
त्यस्तै, गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनले तिर्नुपर्ने शुल्क समेत तोकिसकेको छ ।
यस आयोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ ।

