काठमाडौं । वन तथा वातावरण मन्त्रालयले वायु प्रदूषण नियन्त्रण गर्न एकपछि अर्को क्षेत्रमा नयाँ मापदण्ड लागू गर्ने भएको छ ।
गत असार ९ गते सवारी साधनमा वायु प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गरेको मन्त्रालयले विभिन्न क्षेत्रमा अब एकैपटक ५ नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको हो ।
मन्त्रालयले इँटा उद्योग, उद्योग प्रतिष्ठान, उद्योग, सिमेन्ट उद्योगमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको हो । मन्त्रालयले ५ वटा नयाँ मापदण्डको मस्यौदा बनाई सार्वजनिक गरेको छ ।
मन्त्रालयले ‘वायु गुणस्तर सम्बन्त्री राष्ट्रिय मापदण्ड २०८२’, ‘इँटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ चिम्नीको उचाइ तथा इँटा उद्योगको संचालन सम्बन्धी मापदण्ड २०८२’, ‘उद्योग प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाइ सम्बन्धी मापदण्ड, २०८२’, ‘औद्योगिक फर्नेसको सञ्चालन, सञ्चालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाई सम्बन्धी मापदण्ड, २०८२’ र सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुँवा तथा चिम्नीको उचाई सम्बन्धी मापदण्ड २०८२ लागू गर्ने तयारी गरेको हो ।
सबै मापदण्डको मस्यौदा सार्वजनिक गर्दै मन्त्रालयले सरोकारवालाबाट सुझाव समेत मागेको छ । प्राप्त हुने सुझावलाई समेटी ती नयाँ मापदण्ड चाँडै लागू गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यसअघि दुइपाँग्रेमा युरो ५ र चारपाँग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू गरेको थियो ।

