सेनाले जिम्मा लिएका ४ सडकको गत वर्ष शतप्रतिशत प्रगति

फाइल तस्बिर ।

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेका ४ सडकको गत आर्थिक वर्ष २०८१/८२ मा शतप्रतिशत प्रगति भएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेका ४ सडकको गत वर्ष कुल ९.५१ किलोमिटर नयाँ ट्रयाक र स्तारोन्नति गर्ने लक्ष्य राखिएको थियो । जसमा सेनाले चारै सडक निर्माणको वार्षिक लक्ष्य प्राप्ति गर्न सफल भएको हो ।

नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतका अनुसार गत वर्ष कर्णाली करिडोर, बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ, उत्तर दक्षिण कोशी करिडोर र दार्चुला-टिंकर सडकको वार्षिक लक्ष्य हासिल भएको बताए । उनले गत आवमा ४ वटा सडकका कुल ८.३१ किमी नयाँ ट्रयाक र १.२ किमी स्तरोन्नतिको लक्ष्य राखिएकोमा सबै पूरा भएको बताए ।

‘सेनाले निर्माण गरिरहेका सडकले पाएको बजेटका आधारमा वार्षिक लक्ष्य निर्धारण गरिएको हुन्छ । गत वर्ष उत्तर दक्षिण जोड्ने ४ सडकमा कुल ९.५१ किमी नयाँ ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो । त्यसमा शतप्रतिशत प्रगति भएको हो,’ उनले मेरोअटोसँग भने ।

चार वटै सडकमा सेनाले नियमित रूपमा काम गर्दा राखिएको वार्षिक लक्ष्य हासिल गर्न सफल भएको उनले बताए ।

उनका अनुसार गत वर्ष कर्णाली करिडोर (लालिकगर-दुलीकुन्ना, घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्ड)मा प्राप्त गरेको ९ करोड ८८ लाख बजेटका आधारमा २.५ किमी नयाँ ट्रया खोल्ने लक्ष्य राखिएकोमा सबै काम पूरा भएको हो ।

सेनाले कर्णाली करिडोरको कुल २२.०३ किलोमिटर खण्डको नयाँ ट्रयाक निर्माण गर्ने जिम्मा पाएको छ । सोमध्ये गत असार मसान्तसम्म १६ किमी नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । आव २०८२/८३ भित्र सेनाले जिम्मा लिएको सडकको ट्रयाक खोल्ने र स्तरोन्नतिको काम सम्पन्न गरिसक्नुपर्नेछ ।

कर्णाली करिडोर पनि नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्ने यो सकड ६२६ किमी लामो छ । जसमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न मात्रै ४१९ किमी पार गर्नुपर्छ । कर्णाली करिडोरको स्तरोन्नति गर्न चालु आवमा १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, बेनिघाट-आरुघाट-लार्केभन्ज्याङ सडकले गत वर्ष पाएको ६ करोड ९९ लाख रुपैयाँ बजेटको आधारमा २ किमी नयाँ ट्रयाक खोल्ने लक्ष्य राखिएकोमा त्यो पनि पूरा भएको छ ।

कुल ९२ किलोमिटर लामो यस सडकको असारसम्म ४० किमी नयाँ ट्रयाक निर्माण र ३ किमी ट्रयाक स्तरोन्नति भएको छ । खनिसकिएको छ ।

धादिङको बेनीघाटदेखि गोरखाको लार्केपाससम्मको कुल १५४ किमी सडकमध्ये सेनाले अप्ठ्यारो खण्डको ९२ किमी सडकको ट्रयाक खोल्ने जिम्मा पाएको छ । सेनाले उक्त सडक आर्थिक वर्ष २०८६/८७ भित्र ट्रयाक खोलिसक्नुपर्ने छ । जसमा अब ५ वर्ष भित्र बाँकी ५२ किमी सडकको ट्रयाक खोल्नुपर्नेछ । यस सडकले पनि पर्याप्त बजेट नपाउँदा अपेक्षित गति लिन सकेको छैन । चालु आवमा यस सडकलाई १२ करोड ९२ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै, सरकारले २०७७ माघ २४ गते कोशी करिडोर अन्तर्गत खाँदबारी-किमाथांका (च्याम्ताङ-घोङघप्प) खण्डको १०.५ किमी सडक निर्माणको जिम्मा सेनालाई दिएको थियो । जसमा गत वर्ष यस सडकले पाएको ४ करोड ९५ लाख रुपैयाँ बजेटको आधारमा २.०१ किमी नयाँ ट्रयाक निर्माणको लक्ष्य राखिएकोमा सम्पन्न भएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

सेनाले ट्रयाक खुलाए पनि उक्त खण्ड फराकिलो बनाउने काम बाँकी छ । यो सडक आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । खाँदबारी-किमाथांका भारत-चीन जोड्ने सबैभन्दा छोटो दुरीको सडक समेत हो । चालु आवमा यस सडकका लागि ६१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सेनाले ७९ किलोमिटर लामो दार्चुला-टिंकर सडकको ट्रयाक खोल्ने जिम्मा पाएको छ । सोमध्ये गत आवमा विनियोजित ८ करोड ४४ लाख रुपैयाँ बजेटका आधारमा राखिएको १.२ किलोमिटर नयाँ ट्रयाक र १.२ किलोमिटर ट्रयाक स्तरोन्नतिको लक्ष्य शतप्रतिशत हासिल गरिएको सूचना अधिकारी बस्नेतले बताए । हालसम्म समग्रमा यस सडकको १५.२० किलोमिटर नयाँ ट्रयाक खोल्ने काम पूरा भएको उनले बताए ।

२०७७ माघ २८ मा सेनालाई आव २०८८/८९ भित्र ट्रयाक खोलिसक्नुपर्ने गरी यो सडक निर्माणको जिम्मा दिइएको थियो । भीरैभीर र कडा चट्टान भएका कारण यस खण्डको ट्रयाक खोल्न निकै कठिन छ । साथै, पर्याप्त बजेट नपाउँदा सडक निर्माणले गति लिन सकेको छैन । चालु आवमा यस सडकलाई २४ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

४२५ किमी लामो महाकाली करिडोरले सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ । यो सडक निर्माण सम्पन्न भएपछि नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । साथै, दार्चुला-तिंकर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सजिलो हुनेछ ।


Back_to_top