नाइमा मोबिलिटी एक्स्पोमा ३५ नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । यही साउन २१ गतेबाट आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा विभिन्न ब्राण्डका ३५ नयाँ मोडल सार्वजनिक हुने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले मोबिलिटी एक्स्पोमा ३५ नयाँ मोडल सार्वजनिक हुने जानकारी दिएको हो ।

पहिलो पटक हुन लागेको नाइमा अटो शोमा विभिन्न ५० ब्राण्डले सहभागिता जनाउँदै छन् । यी ब्राण्डहरूले ३५ नयाँ मोडल सार्वजनिक गर्न लागेका हुन् । आयोजक संस्थाले दिएको जानकारी अनुसार १५ मोडलका चार पाङ्ग्रे सवारी साधन, १५ नयाँ मोडलका टु ह्वीलर, एउटा थ्री ह्वीलर्स र ४ वटा कमर्शियल गाडी सार्वजनिक हुनेछन् ।

अहिले नयाँ सार्वजनिक हुने मोडलको बारेमा जानकारी नदिइए पनि नाइमा सहभागी ब्राण्डहरूको तयारी अनुसार ओमोडा-जेको, लीपमोटर, फरथिङ, आइएम मोटर्स, महिन्द्रा, किया, माज्दा लगायतका ब्राण्डले नयाँ मोडल सार्वजनिक गर्दैछन् ।

दुई पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरू टीभीएस, बजाज, केटीएम, सेगवे, याडिया, एथर लगायतका ब्राण्डले नयाँ मोडल बजारमा ल्याउने छन् । कम्पनीहरूको तयारी अनुसार इलेक्ट्रीक माइक्रो भ्यान सेग्मेन्टमा नयाँ लाइट कमर्शियल गाडीहरू मोबिलिटी एक्स्पोमा रहने छन् ।

जापानी ब्राण्ड टोयोटा, निसान र मित्सुबिशीले पनि नाइमा मोबिलिटी एक्स्पोमा सहभागिता जनाएका छन् । उनीहरूले कस्ता मोडल प्रदर्शनी गर्छन् भन्ने विषयमा जानकारी प्राप्त भएको छैन । अर्को जापानी ब्राण्ड माज्दाले भने सीएक्स-६० मोडल बिक्री थाल्नेछ ।

युरोपियन ब्राण्ड फक्सवागेन पनि मोबिलिटी एक्स्पोमा सहभागी छ । फक्सवागेनले भारतमा बनेको भर्टुस सेडान कार बिक्री सुरु गर्दैछ ।


Back_to_top