काठमाडौं । हुवावेको लगानी रहेको आइटोले नयाँ ‘एम-५ अल्ट्रा’ एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्टमै १९२ च्यानल लाइडार प्रयोग गरेर बजारमा ल्याएको हो ।
टेक जाइन्ट हुवावे र सेरेसको लागनीसँगै आइटोले निकै आक्रमक रुपमा कार उत्पादनलाई अगाडि बढाएको छ । चीनमा ३१ हजार ७२० अमेरिकी डलर सुरुवाती मूल्य कायम गरेर बिक्री सुरु भएको एम-५ अल्ट्रा आगामी मार्च ३ तारिखबाट ग्राहकलाई दिन थाल्ने कम्पनीले जनाएको छ ।
यसअघि पनि आइटोले एम-५ नामबाट एसयूभी उत्पादन गर्दै आएको थियो । नयाँ एम–५ अल्ट्रा उपलब्ध भएसँगै पुरानो मोडलको उत्पादन बन्द भएको छ । नयाँ मोडल पहिलेको एम-५ को तुलनमा ८ प्रतिशत सस्तो मूल्यमा बजारमा आएको हो ।
कम्पनीले प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर मोडलको रुपमा बजारमा ल्याएको एम-५ रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टमको साथ बजारमा आउने छ । कम्पनीले ल्याएको नयाँ एम-५ अल्ट्रामा मुख्यतया एक्स्टेरियर, स्मार्ट ड्राइभिङ, ह्याण्डलिङ, सेफ्टी र फिचरमा ब्यापक परिवर्तन भएर आएको हो । यसमा ‘फोर डी’ मिलिमिटर वेभ रडार समेत उपलब्ध छ ।
आइटोले एम-५ अल्ट्रामा ८३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्याक दिएको छ । जसले ६०२ किलोमिटर रेन्ज दिने सीएलटीसी टेस्टबाट प्रमाणित भएको छ । यसको रियर ह्वील ड्राइभ भर्सनमा २०० किलोवााटको मोटर उपलब्ध छ । पीकटर्क भने ३६० न्यूटन मिटर पाउन सकिन्छ ।
नेपाली बजारमा पनि एम-५ आउन सक्ने देखिएको छ । आइटो ब्राण्डलाई हुवावे र सेरेसले मिलेर लगानी गरेका हुन् । नेपालमा सेरेसका कार एमएडब्लू वृद्धिले बिक्री वितरण गर्दै आएको छ । सन् २०२५ को अन्तिमसम्ममा राइट ह्याण्ड ड्राइभ सिस्टममा उपलब्ध हुने एम-५ अल्ट्रा नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

