ह्याचव्याक कारको जस्तै धेरै माइलेज दिने ब्रेजा, कति पर्ला नेपालमा मूल्य ?

काठमाडौं । मारुती सुजुकी धेरै माइलेज दिने कार उत्पादक ब्राण्ड हो । उसले केही वर्ष अघिसम्म ‘कित्ना दे ती है’ क्याम्पेन नै संचालन गरेको थियो । कम्पनीले केही दिनअघि भारतमा सार्वजनिक गरेको ब्रेजाको एआरएआई प्रमाणित माइलेजले यो सेग्मेन्टमा सबैलाई चकित बनाएको छ ।

मारुती सुजुकी ब्रेजा सेग्मेन्टकै सर्वाधिक ठूलो इन्जिन भएको कार हो । यसमा १.५ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०३ पीएस पावर र १३७ एनएम टर्क प्रदान गर्छ । यो सेग्मेन्टमा धेरै पावर भनिएका सबै साना एसयूभी टर्बो इन्जिनमा आएका छन् ।

नयाँ ब्रेजा ५ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर इन्जिनमा बजारमा आएको छ । यसअघि पनि म्यानुयल गियरबक्स ५ स्पीडमै थियो भने अटोमेटीक भने ४ स्पीडमा थियो । तर, सीजी मोटोकर्पले अटोमेटीक ब्रेजा नेपाल ल्याएको थिएन । अब नयाँ जेनेरेशनमा ल्याउने सम्भावना धेरै रहेको बताइन्छ ।

मारुती सुजुकीले यसमा पहिलो पटक माइल्ड हाइब्रिड टेक्नोलोजी प्रदान गरेको छ । जसको कारण यसको माइलेज पनि निकै राम्रो आउने कम्पनीको दावी छ । भारतीय अटोमोटीभ रिसर्च इन्ट्रीच्यूटका अनुसार यसको म्यानुयल भेरियन्टले २०.१५ किलोमिटर र अटोमेटीक भेरियन्टले १९.८० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

नाडा अटो शो २०२२ सम्ममा ब्रेजा नेपाली बजारमा आउने अपेक्षा गरिएको ब्रेजाको मूल्य भने बढ्ने छ । अहिले यसको टप स्पेक ४८ लाख ५९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री हुँदै आएको छ । तर, यसको त्यही भेरियन्ट नयाँ जेनेरेशनमा आउँदा ५५ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

नयाँ ब्रेजाको ड्यासबोर्ड, लाइट, अलोय ह्वील, ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले, सनरुफ जस्ता फिचर थप भएर आएका छन् ।


Back_to_top