काठमाडौं । सडक अनुशान सभ्य सहरको पहिचान हो भनिन्छ । नेपालमा सडकको दुराअवस्थाले यहाँका शासकहरुको मनोवृत्तिलाई झल्काउँछ । सडक सभ्य भएन भने यहाँ हुने दुर्घटना, यहाँ उत्पन्न हुने फोहोर र दैनिक जीवनमा आइपर्ने समस्या जटिल बन्छ ।
उपत्यका भित्र रहेका काठमाडौं, भक्तपूर र ललितपूर तीनवटै जिल्लाको सहरी क्षेत्रका अवस्थालाई नियालेर हेर्ने हो भने हाम्रो समाजको प्रस्ट चित्र यहाँ हेर्न पाइन्छ । यहाँ निर्माण भएका अधिकांश सडकमा फुटपाथ छैन । फुटपाथ भएपनि ब्यापार गर्नेको कब्जामा छ ।
मानिसको घर भत्काएर विस्तार गरिएको सडकमा गाडी गुड्ने होइन, पार्किङ स्थल निर्माण भएको छ । सडक पेटीदेखि फुटपाथसम्म ठूला महलवालाको कब्जा देखिन्छ । मानिस गाडी चलिरहेको सडकमा हेलिनु पर्छ । यसले सडकलाई एउटा सर्कस बनाएको छ ।
उपत्यका भित्र सडकमा देखिएका बेथितिलाई लिएर बेला बखत चर्चा हुने गरेको पनि छ । हिजो मात्रै उपत्यकामा एउटा परिवारले सडक पेटीमा राखेको मकै महानगर प्रहरीले उठाएसँगै महानगरका मेयर बालेन शाह अहिले सामाजिक संजालमा आलोचनाका पात्र भएका छन् । आलोचना उनलाई मनपर्छ होला तर, उनका समर्थकलाई मन परेको देखिन्न ।
त्यसैले सभ्य सहर निर्माण मेयर बालेन शाहलाई थुप्रै चुनौती होलान् । कम्तीमा सुरक्षीत सडक बनाउन मात्रै पनि उनलाई १० औं चुनौती छन् । जुन तपाई हाम्रै लापरवाहीले सृजना भएको हो । यसको निराकरण उनि एक्लैले गर्न सक्ने विषय नै होइन । तपाई हामीले आफ्नो स्थानबाट सहयोग गर्ने हो भने असम्भव पनि छैन ।
१. जथाभाबी पार्किङ: उपत्यकाको सबैभन्दा ठूलो समस्या नै पार्किङ हो । सडक विस्तार गरिएपछि बढेका सडकमा अहिले पार्किङ भइरहेका छन् । दरबारमार्ग, बागबजार, मैतिदेबी, बत्तीसपुतली, न्यूरोड, नयाँ बजार, बालाजु, बौद्ध, चुच्चेपाटी, बोनेश्वर जस्ता क्षेत्रमा सडकलाई पार्किङ बनाइएको छ । यसले उपत्यकामा जामको समस्या ल्याइरहेको छ ।
२. अनुशासन हिन चालकः नेपालमा गाडी चलाउन आठमा घुमाएर, ब्याक गर्न जानेपछि लाइसेन्स पाइन्छ । त्यसपछि सडकमा कसरी अनुशासित बन्नु पर्छ भन्ने विषयमा ज्ञान दिइदैन । अझ भनौ आवश्यक ठानिदैन । यसले सडक दुर्घटना त बढेकै छ । अत्यावश्यक सेवा दिने साधन पनि सहज तरिकाले हिड्न पाएका छैनन् ।
३. जताततै खाल्डाः उपत्यकामा रहेका सडक खाल्डा पर्नुको मुख्य कारण खानेपानी, विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक जस्ता निकायले समन्वय नगर्नु हो । यदि सरोकारवाला निकायले आपसी समझदारीमा काम गर्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।
४. बल्दै नबलने ट्राफिक लाइटः उपत्यकामा जडान भएका ट्राफिक लाइट ब्यस्थ समयमा बल्दैनन् वा ट्राफिक प्रहरीले बन्द गर्छन् । अचम्म त के छ भने राती १० बजेपछि उपत्यकामा जडान भएका सबै लाइटहरु बल्छन् । यसले हाम्रो कुनैपनि निकाय प्रविधिको प्रयोग गर्न चाहँदैनन् भन्ने देखाउँछ । लाइट विश्वसनिय तरिकाले बल्ने हो भने सडकमा प्रहरीको आवश्यकता नै पर्दैन । अर्को बाटो काट्ने बटुवाहरु लाइट भएको स्थानमा पनि फलो गर्दैनन् ।
५. फुटपाथ नहुनुः देशका ठूला ठूला प्रशानिक क्षेत्रमा नै फुटपाथ छैन । चाहे अख्तियारको कार्यालय अगाडि होस् वा बानेश्वर चोक वा चाबहिल चोक यहाँको फुटपाथको अवस्था निकै दयनिय छ । अपाड्गता भएका मानिस, दृष्टि विहिन मानिस र असक्तहरुको लागि काठमाडौंका फुटपाथ थप पिडा बन्ने गरेका छन् । समृद्ध देशमा सडकभन्दा ठूला फुटपाथ हुन्छन् । त्यतातर्फ हाम्रो ध्यान नै छैन ।
६. भएका फुटपाथ व्यापारीको कब्जामाः काठमाडौंका अधिकांश बजार हिड्दा तपाईले फुटपाथ कब्जा भएको देख्न सक्नुहुन्छ । फेन्सी पसल, किराना पसल, ग्यास र पानी पसल, हाडवयर पसलदेखि मिठाई पसलसम्मले फुटपाथमा कब्जा जमाएका छन् । नगर प्रशासनले यसलाई आँखा चिम्लदै आएको छ ।
७. ठेला गाडाको आतंकः सहर अस्थब्यस्थ बनाउने ढेला गाडा पनि हुन् । अझ काठमाडौंमा बाटोमा मकै पोल्ने, पानीपुरी विक्री गर्ने, मकै भटमास भुट्ने, कपडा राखेर वेच्ने, जुत्ता पसल चलाउने, फलफुल बेच्ने, चस्मादेखि घडीसम्म राखेर विक्री गर्ने गरेको पाइन्छ । सरकारले करोडौं रुपैयाँ खर्चेर बनाएका आकाशेपुल समेत नाङलोमा ब्यापार गर्नेको कब्जामा छ ।
८. कानुनको धज्जी उडाउने राइड एण्ड सेयर कम्पनीः कानुनी मापदण्ड नै भएका राइड एण्ड सेयरिङ कम्पनीहरुले उपत्यकामा जामको अवस्था सृजना गरेका छन् । उनिहरुलाई नियमन गर्ने निकाय छैन । अहिले त मोटरसाइकल र स्कुटरको अगाडि मोवाइल राखेको मोटरसाइकल वा स्कुटर देख्यो भने बाटोमा डर लाग्ने अवस्था सृजना भएको छ । यसलाई कि छुट्टै नम्बर प्लेट दिएर संचालन गर्नु पर्छ कि यो सेवा बन्द गराउनु पर्छ ।
९. फोहोर फ्याक्ने स्थानः करिब १ महिनापछि काठमाडौंको फोहोर उठेको छ । मानिसले सधै फोहोर सडकमा लगेर फ्याक्नु पर्छ भन्ने सोच विकास गरेको देखिन्छ । अहिले हरेक दिन सडकमा फोर आउन थालेको छ । यसले उपत्यकाका सडकलाई प्रदुषित मात्र होइन घिन लाग्दो बनाएको छ ।
१०. ढल विहिन सहरः काठमाडौं ढल विहिन सहर जस्तै भएको छ । सामान्य पानी पर्दा पनि काठमाडौं जलमग्न हुन थालेको छ । यसरी जलमग्न भएपछि सडकको पीचको आयु घट्छ । साथै आम नागरिकको घरमा नै पानी पस्ने अवस्था सृजना भएको छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने योजना महानगरले बनाउनु पर्छ । यति काम हुन सक्ने हो भने काठमाडौंका सडक मानवमैत्री र सवारीमैत्री बन्ने छन् ।

