काठमाडौं । सरकारले देशका प्रमुख राजमार्गको स्तरोन्नतिका लागि १ खर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुख्य राजमार्गलाई प्राथमिकतामा राख्दै १ खर्ब २० अर्ब रुपैयाँ बढी बजेट विनियोज गरेका हुन् ।
उनले पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्ड चार लेनमा स्तरोन्नति गर्न ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएका छन् ।
त्यसैगरी, काठमाडौं-तराई/मधेश द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, हुलाकी राजमार्ग ४ अर्ब ६५ करोड, कर्णाली राजमार्ग १ अर्ब, पुष्पलाम मध्यपहाडीका २ अर्ब १६ करोड, मदन भण्डारी १ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
त्यस्तै, देशभरका मुख्य राजमार्ग र रणनीतिका सडकमा पुलका लागि ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजना गरिएको छ ।
त्यस्तै, कर्णाली करिडोर, कोशी करिडोर र कालीगण्डकी करिडोरका लागि ६ अर्ब २५ करोड, गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक १ अर्ब ३५ करोड, काठमाडौं सहित देशैभरका सडक धुलोमुक्त बनाउन २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
सरकारले सडक सुरक्षामा प्रयोग हुने ट्राफिक लाइटदेखि ट्राफिक चिन्नहरु निर्माण गर्न २ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।


