पौने २ अर्बमा डोल्पाको लाशिक्याप-धो सडक दुई लेनको बनाइँदै

सांकेतिक तस्बिर ।

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्लाको लाशिक्याप-धो सडकखण्ड दुई लेनमा स्तरोन्नति गरिने भएको छ । ३७.५ किलोमिटर लामो यो सडक अनुमानित १ अर्ब ७५ करोड ९८ लाख रुपैयाँमा स्तरोन्नति गरिने भएको हो ।

कृषि, वन तथा वातावरण मन्त्रालयले उक्त सडक निर्माण अघि बढाउन तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रस्तावित लाशिक्याप-धो सडक खण्ड डोल्पाको काईके गाउँपालिका-५ लाशिक्यापबाट सुरु भई डोल्पो बुद्ध गाउँपालिका-१ धोमा गएर अन्त्य हुनेछ ।

३७.५ किमी लामो लाशिक्याप-धो सडकको २२.७ किमी नयाँ सडक निर्माण र बाँकी १४.८ किलोमिटर हालकै सडकलाई स्तरोन्नति गरिने प्रस्ताव गरिएको हो ।

प्रस्तावित सडक जाजरकोट-दुनै-मरिम-तिन्जे-धो अन्तर्गतको सहायक सडक खण्ड हो । हाल निर्माण भएको लाशिक्याप-धो १४.८ किमी सडक औसत २ मिटर चौडाइको छ । अब उक्त सडक र नयाँ निर्माण गरिने सबै सडक ८.५ मिटर चौडाइको बनाउने प्रस्ताव गरिएको छ । जसमा ७ मिटर क्यारिजवे (मुख्य सडक) र दुवैतर्फ ०.७५/०.७५ मिटरको नाला रहने छ ।

यो सडकमा १०४ वटा ह्युम पाइप कल्भर्ट, ४ वटा पुल, २ वटा स्ल्याब कल्भर्ट र १ बटा कजवे निर्माण गरिने प्रस्ताव गरिएको छ ।


Back_to_top