काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता यामाहाले दुईपाङ्ग्रे साधनको सुरक्षा वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ‘एडाप्टिभ क्रुज कन्ट्रोल’ बनाउने भएको छ ।
कम्पनीले आफ्ना दुईपाङ्ग्रे साधनमा नवीनतम प्रविधिको खोजी गर्ने क्रममा एडाप्टिभ क्रुज कन्ट्रोल बनाउने भएको हो । कम्पनीले क्रुज कन्ट्रोलको लागि प्याटेन्ट पनि दर्ता गरिसकेको छ ।
यामाहाले यसअघि पनि विभिन्न एड्भान्स टेक्नोलोजीको आविष्कारमा काम गर्दै आएको छ । कम्पनीले एआईमा आधारित दुईपाङ्ग्रे साधन र हाइड्रोजनबाट चल्ने टु ह्वीलरसम्मको विकास गरिरहेको छ । यी सबै टेक्नोलोजीको पेटेन्ट यामाहाले दर्ता गरिसकेको छ ।
यामाहाले नयाँ दर्ता गराएको एडाप्टिभ क्रुज कन्ट्रोलको पेटेन्ट सडक सुरक्षाको हिसाबले निकै उपयोगी हुने अनुमान गरिएको छ । क्रुज मोडमा दुईपाङ्ग्रे सवारी साधन चलाउँदा आफ्नो अगाडि रहेको सवारीसँगको दुरी स्वतः व्यवस्थापन हुने भएको कारण यात्रा सुरक्ष्ाित हुन्छ ।
दुईपाङ्ग्रेमा जटिल बन्न सक्छ एडाप्टिभ क्रुज कन्ट्रोल
एडाप्टिभ क्रुज कन्ट्रोल कारहरूमा व्यापक प्रयोग हुन्छ । तर, मोटरसाइकल वा स्कुटरमा केही जटिल हुनसक्छ । कारमा क्रुज कन्ट्रोल प्रयोग भएकै समयमा अचानक गति कम गर्नु पर्दा चालक वा यात्रुको लागि केही समस्या हुँदैन । अझ सिटबेल्ट प्रयोग हुने कारण यात्रुलाई स्थिर रहन सहयोग गर्छ ।
मोटरसाइकल वा स्कुटरमा प्रयोग हुने एडाप्टिभ क्रुज कन्ट्रोल थप चुनौती पूर्ण हुन सक्छ । त्यसैलाई मध्यनजर गर्दै यामाहाले बनाउने क्रुज कन्ट्रोल ब्रेकिङ, थ्रोटल, गियर सिफ्ट र इलेक्ट्रोनिक सस्पेन्सनलाई नै कन्ट्रोल गरेर गति कम गर्नेगरी तयार पार्ने जनाएको छ । एडाप्टिभ क्रुज कन्ट्रोल प्रयोग गर्नको लागि यामाहाले ‘वाई अटोमेटेड म्यानुअल ट्रान्समिसन’ प्रयोग गर्ने छ ।
मोटरसाइकल वा स्कुटरमा प्रयोग हुने राडारले अगाडिको साधनको गति हिसाब गरेर थ्रोटललाई स्मुथ तरिकाले कम गरिदिन्छ । साथै, यही अवस्थामा मोटरसाइकलको इन्जिन स्टल नहोस भनेर कम्पनीले अटोमेटेड म्युनअल ट्रान्समिसनको प्रयोग गर्नेछ । गियरको सही प्रयोगले ब्रेकिङमा थप सहयोग पुग्छ । जहाँ दुईपाङ्ग्रे साधन नियन्त्रणमा लिन सजिलै हुन्छ भने झट्का पनि कम लाग्नेछ ।


