काठमाडौं । जापानी अटो ब्राण्ड निसानले भारतमा उत्पादन गरेको नयाँ मिडसाइज एसयूभी ‘टेक्टन’ दुई सातापछि सार्वजनिक हुने भएको छ ।
निसान इन्डियाले टेक्टन एसयूभी १८ दिनपछि (जुलाइ ९ तारिख)मा सार्वजनिक गर्ने घोषणा गरेको हो । भारतमा सार्वजनिक भएपछि टेक्टन नेपाली बजारमा पनि आउने छ ।
निसान टेक्टोनको आर्किटेक्चर नयाँ रेनो डस्टरसँग मिल्दोजुल्दो हुनेछ । कम्पनीले यसलाई भारतमा ठूलो संख्यामा उत्पादन गर्ने योजना समेत बनाएको छ ।
टेक्टनको लुक्स अलि बढी आक्रामक, तिखो र बलियो मस्कुलर डिजाइनको हुनेछ । यसको अगाडि फ्ल्याट बोनेट, वारपार कनेन्ट लाइट सहितको एलईडी हेडलाइट रहने छ । साइडमा म्याग्नाइटमा जस्तै फ्लेयर ह्वील आर्क र मल्टी स्पोक अलोय ह्वील रहने छ ।
टेक्टनको पछाडि भागमा पूर्ण चौडाइको एलईडी लाइट बार, स्क्वायर ह्वील आर्क र निसानको ग्लोबल ‘पेट्रोल’ मोडलबाट प्रेरित सिधा र मजबुत आउटलुक दिएको छ । यसको उच्च बोनेट लाइन, आकर्षक बडी प्यानल र ठूलो साइजले प्रतिस्पर्धीहरूलाई कडा टक्कर दिने अनुमान छ ।

यसको इन्टेरियर लेआउट र सुविधाहरू धेरै हदसम्म रेनो डस्टरसँग मिल्दाजुल्दा हुनेछन् । जसमा गुगल एप्लिकेसनहरू एकीकृत भएको १०.१ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट युनिट र १०.२५ इन्चको प्योर डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहने अपेक्षा गरिएको छ ।
साथै, पावर एडजस्टमेन्ट र भेन्टिलेटेड अगाडिका सिटहरू, पावर्ड टेलगेट, वायरलेस चार्जिङ, प्यानोरामिक सनरुफ, यूएसबी टाइप सी चार्जिङ पोर्टहरू, डुअल जोन क्लाइमेट कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर, ओटीएअपडेट, कनेक्टेड कार फङ्सन लगायत फिचर रहने सम्भावना छ । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल ३६० डिग्री क्यामेरा र लेभल २ एडास सुविधाहरू रहने छन् ।
निसानले टेक्टोनलाई तीनवटा इन्जिन विकल्पमा बजारमा ल्याउने अनुमान गरिएको छ । टेक्टनको इन्ट्री लेभल भर्सनमा १.० लिटरको थ्री सिलिण्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिन हुन सक्नेछ । जसले करिब १०० बीएचपी पावर र १६० एनएम टर्क दिनेछ । यसमा म्यानुअल गियरबक्स जडान हुनेछ ।
त्यस्तै, १.३ लिटरको टर्बो पेट्रोल इन्जिन रहने अपेक्षा गरिएको छ। यस इन्जिनले १६३ बीएचपी पावर र २८० एनएम टर्क दिन्छ । यो इन्जिनसँग म्यानुअल र डुअल क्लच अटोमेटिक दुवै गियरबक्स विकल्प पाउन सकिनेछ।
टेक्टनको टप भेरियन्टमा स्ट्रङ हाइब्रिड सेटअप रहने अपेक्षा गरिएको छ । रिपोर्टहरूका अनुसार यसमा १.८ लिटरको पेट्रोल इन्जिनसँगै दुईवटा इलेक्ट्रीक मोटर र एउटा सानो ब्याट्री प्याक रहनेछ । जसको संयुक्त आउटपुट करिब १६० बीएचपी हुनेछ ।


