सन् २०२६ मा ईभी बिक्रीमा नयाँ कीर्तिमान बन्ने

काठमाडौं । सन् २०२६ मा विश्व बजारमा विद्युतीय सवारी (ईभी)को बिक्रीमा नयाँ रेकर्ड बन्ने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)ले मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण तेलको मूल्यमा भइरहेको वृद्धिले गर्दा यो वर्ष ईभी बिक्रीमा कीर्तिमान बन्ने प्रक्षेपण गरेको हो ।

सन् २०२५ मा विश्वभर विद्युतीय कारको बिक्री २० प्रतिशतले बढेर २ करोडभन्दा बढी पुगेको थियो । आइईएले सन् २०२६ मा ईभी कारको बिक्री बढेर २ करोड ३० लाख युनिट पुग्ने प्रक्षेपण गरेको हो । जुन संख्या कीर्तिमानी हुनेछ ।

सन् २०२६ का कुल कार बिक्रीमा २८ प्रतिशत हिस्सा ईभीको रहने अनुमान गरिएको हो । यो वर्ष युरोपमा ईभीको बिक्री २० प्रतिशत बढ्ने अनुमान गरिएको छ । अर्थात् युरोपमा बिक्री हुने तीन कारहरू मध्ये एक इलेक्ट्रीक हुनेछ ।

गत वर्षको तुलनमा केही सुस्त रहे पनि चीनमा यो वर्ष ईभीको बिक्री हिस्सा ६० प्रतिशत पुग्ने अनुमान गरिएको छ । चीन बाहेक एशिया प्रशान्त देशहरूमा बिक्री ५० भन्दा बढीले बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै, ल्याटिन अमेरिकामा ईभीको बिक्री ४५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

२०२६ को पहिलो त्रैमासिकमा विश्वका धेरै देशमा ईभी बिक्रीले रेकर्ड तोडेको छ । मार्च २०२६ मा लगभग ३० देशहरूले मासिक बिक्री रेकर्ड तोडेको छ । थप ६० देशहरूले वार्षिक बिक्री वृद्धि गरेका छन् । पहिलो त्रैमासमा युरोपमा ३० प्रतिशतले बढेको छ । युरोपेली संघ कारहरूको लागि कार्बनडाइ अक्साइड मापदण्डमा कडाइ गरेपछि युरोपमा ईभीको बिक्री ह्वात्तै बढेको हो । त्यस्तै, पहिलो त्रैमासमा चीन बाहेक एशिया प्रशान्त क्षेत्रका देशहरूमा ८० प्रतिशत र ल्याटिन अमेरिकाभरि बिक्री ७५ प्रतिशतले बढेको छ ।

यद्यपि, समग्र बिक्रीमा भने ८ प्रतिशतको गिरावट आएको छ । पहिलो त्रैमासमा विश्वव्यापी ३९ लाख युनिट ईभी बिक्री भएका छन् । मुख्यगरी, चीन र संयुक्त राज्य अमेरिकामा प्रमुख नीति परिवर्तनहरू पछि ईभीको बिक्रीमा केही गिरावट देखिएको हो । यी बाहेक अन्य देशमा भने तीव्र दरमा बढिरहेको छ ।

मध्यपूर्वको द्वन्द्वका कारण सिर्जना भएको ऊर्जा संकटले धेरै देशहरूमा पेट्रोलियम पदार्थको आयात माथिको निर्भरतालाई बढी केन्द्रित गराएको छ । सडक यातायात क्षेत्रले आजको कुल तेल मागको झन्डै आधा हिस्सा ओगट्छ । यस संकटको दीर्घकालीन प्रभावलाई सम्वोधन गर्न चालिने नीतिगत कदमहरूले आगामी वर्षहरूमा विश्वव्यापी कार बजारको रूपरेखा तय गर्नेछन्।

सन् १९७० को दशकको तेल संकटले इन्धन दक्षता मापदण्डहरू लागू गर्न प्रेरित गरेको थियो । जसका कारण सन् १९७५ देखि आजसम्म परम्परागत आइसीई कारहरूको इन्धन बचत क्षमता झन्डै दोब्बर भएको छ । त्यस्तै, कोभिड १९ महामारीको समयमा धेरै देशहरूले ईभीको प्रयोग बढाउन र आर्थिक पुनरुत्थानमा सहयोग गर्न ईभी अनुदान सुरु गरेका थिए । सन् २०२५ मा विश्वभर रहेका ईभीले प्रतिदिन करिब १७ लाख ब्यारेल तेलको खपत जोगिएको थियो ।

ईभीको संचालन खर्च आइसीई गाडीको तुलनामा निकै कम हुन्छ भने पर्फमेन्छ उच्च हुन्छ । मध्यपूर्वको द्वन्द्वका कारण हालै तेलको मूल्यमा भएको वृद्धिले ईभी चलाउँदा हुने खर्चको बचतलाई अझ बढाइदिएको छ ।


Back_to_top