काठमाडौं । मेरोअटो मोटर र्यालीको छैटौं संस्करण शुक्रबारदेखि सुरू हुने भएको छ । अटोमोटिभ्स प्रालिले यस वर्षको मोटर र्याली (जेठ ८ र ९ गते) काठमाडौंदेखि पोखराको लेकसाइडसम्म आयोजना गर्ने भएको हो ।
शुक्रबार बिहान ७ बजे काठमाडौंको दरवारमार्गस्थित चार्लिज क्याफेबाट नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र महिन्द्रा नेपाल हेड चैतन्य कागलकर संयुक्त रूपमा फ्ल्याग अफ गर्दै र्यालीको शुभारम्भ गर्ने छन् ।
दरवारमार्गबाट सुरू हुने र्याली कलंकी-नागढुंगा-गल्छी-मुग्लिन-आँबुखैरेनी-दमौली हुँदै पोखरा लेकसाइड सुकुटे पुगेर सम्पन्न हुनेछ ।
उक्त र्यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी हुने छन् । र्यालीमा अटोमोबाइल, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, इन्स्योरेन्स, मिडिया लगायत क्षेत्रका व्यक्तिहरू सहभागी हुने छन् ।
अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले आन्तरिक पर्यटन प्रवद्र्धन, ड्राइभ टुरिजम कल्चर स्थापित, हाइवे ड्राइभिङ र व्यवसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गर्न लागिएको बताए ।
‘आन्तरिक पर्यटन प्रबद्र्धन, ड्राइभ टुरिजम कल्चर स्थापितसँगै व्यवसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले हामीले सन् २०२१ देखि वर्षेनी मोटर र्याली आयोजना गर्दै आइरहेका छौं । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘साथै मोटर र्यालीलाई समाजिक कार्यमा पनि अघि बढाएका छौं ।’
सीएसआर अन्तर्गत धादिङको तारुकाघाटस्थित श्री गणेशमासिंह स्मृति आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री र तनहुँ प्रहरी कार्यालयलाई उद्दार सामग्री प्रदान गरिने उनले जानकारी दिए ।
यस वर्षको मेरोअटो मोटर र्यालीको मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ । इन एसोसिएसन विथ महिन्द्रा (अग्नि इन्कर्पोरेटेड) रहेको र्यालीको पर्फमेन्स पार्टनर सियट टायर रहेको छ ।
र्यालीको सपोटेड बाइमा ओमोडा/जेको, आइकार, निसान, लीपमोटर, एमजी नेपाल, लक्ष्मी हुन्डाई, जिली र म्याक्सस रहेका छन् ।
त्यस्तै, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, डेस्टिनेसन पार्टनर इलाइट मोटर, फ्यागअफ स्पट पार्टनर चार्लिज क्याफे, स्पीड पार्टनर गभर्नर ह्वीस्की र चिलिङ पार्टनर यती ब्रुअरी रहेको छ ।
मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणको र्याली सन् २०२१ को काठमाडौं-सुकुटेसम्म भएको थियो ।
त्यस्तै, दोस्रो संस्करणको काठमाडौं-मूलकोट, तेस्रो काठमाडौं-त्रिशूली, चौथौं काठमाडौं-सौराहा र पाँचौं काठमाडौं-सुकुटे भएको थियो ।


